Monday, March 29, 2021

स्वास्थ्य बीमा कार्यक्रम अब ७७ जिल्लामै पुग्दै, चैत २५ गते थप ६ जिल्लामा शुभारम्भ हुने

✍️ नोटबजार संवाददाता।
 काठमाण्डौं।
 १६चैत्र, २०७७, सोमबार / Mar 29, 2021 16:57:pm



सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । वि.सं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।

यही चैत २५ गते ६ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव लम्सालले जानकारी दिए । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा लागू गर्न थालिएको हो ।

बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले ७०० रुपैयाँ बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले गराए रु एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन् ।

बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए । “अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौँ”, उनले भने, “त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाई सबैलाई आबद्ध गर्दछाँै ।”

अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । उनले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइनेसमेत जानकारी दिए । अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् । तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् ।

सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा लम्सालले जानकारी दिए । बोर्डले अहिले बीमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेको जस्तो नागरिक सहभागी नभएको बताए ।

उनले स्वास्थ्य बीमा गरेका तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने बताए । “गरीब विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन”, उनले भने, “त्यस्ता गरीब, विपन्न वर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पु¥याउँछ ।”

बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवाली मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बीमामा आकर्षण कम भएको बताए । “बिरामी हुँदा मानिसहरु एक लाखभन्दा पनि बढी तिर्छन्”, उनले भने, “तर बीमा गर्नका लागि तीन हजार ५०० शुल्क पनि तिर्न मानिरहेका छैनन् ।”

उनले वार्डस्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने बताए । सरकारले पोलिएको, गम्भीर अपाङ्गताका लागि गरिने उपचार, ओँठ तालु काटिएकामा गरिने सर्जरीबाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी भने बीमाबापत गराउने पाउने छै्रनन् । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम शुरु गरेको थियो ।

https://notebazar.com/news/2021-03-29-28

✍️ विजया बाँस्कोटा
 काठमाण्डौं।
 १४चैत्र, २०७७, शनिबार / Mar 27, 2021 13:10:pm



कोभिड-१९ संक्रमणका बीच पनि नेपालमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना अवधिमा एक खर्ब माथि बीमा व्यवसाय गरेका छन् । सञ्चालित १९ जीवनबीमा र १९ निर्जीवन बीमा कम्पनीहरुले सो बराबरको व्यवसाय गरेका हुन् । राष्ट्रिय बीमा कम्पनीको भने तथ्याङ्क सार्वजनिक भएको छैन ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आव २०७८/७८ को फागुन मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीले कुल १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । गत आव २०७६/७७ आवको आठ महिना अवधिमा जीवन तथा निर्जीवन गरी कुल ७८ अर्ब १० करोड रुपैयाँ बराबरको व्यवसाय भएको थियो । समीक्षा अवधिमा समग्र बीमा व्यवसायमा ३१.११ प्रतिशतको वृद्धि देखिएको छ ।

चालु आवको फागनु मसान्तसम्ममा अवधिमा जीवन बीमातर्फ ८२ अर्ब २० करोड र निर्जीवन बीमा व्यवसायतर्फ २० अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको हो । गत आव २०७६/७७ आवको आठ महिना अवधिमा जीवन बीमातर्फ ६० अर्ब २२ करोड र निर्जीवन बीमा व्यवसायतर्फ १७ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको समितिको तथ्याङ्क छ ।

समीक्षा अवधिमा जीवन बीमा व्यवसायतर्फ ३६.५० प्रतिशत र निर्जीवन बीमा व्यवसायतर्फ १२.९८ प्रतिशतले व्यवसाय बढोत्तरी भएको छ ।
चालु आवको ८ महिना अवधिमा जीवनबीमाकम्पनीहरुले २८ अर्ब ९ करोड रुपैयाँप्रथमबीमा शुल्क, ५३ अर्ब ७९ करोड रुपैयाँ नवीकरण बीमाशुल्क र ३२ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क गरी कुल ८२ अर्ब २० करोड रुपैयाँ संकलन गरेका हुन् ।

गत आवको ८ महिनासँग तुलना गर्दा यस अवधिमा सबै (१९ वटै) जीवन बीमाकम्पनीहरुले बीमा शुल्क संकलन बढाएका छन् भने निर्जीवन बीमा व्यवसायतर्फ २० मध्ये १६ कम्पनीको व्यवसाय बढेको छ । हिमालयन जनरल, ओरियन्टल र नेशनल इन्स्योरेन्सको बीमा शुल्क संकलन घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क सार्वजनिक भएको छैन ।

जीवन बीमा व्यवसायतर्फ फागुनसम्म नेपाल लाइफले सबैभन्दा धेरै २२ अर्ब ६७ करोड (जीवन बीमा व्यवसायको २७.५८ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेको छ । महालक्ष्मी लाइफले सबैभन्दाकम ६८ करोड (जीवन बीमा व्यवसायको ०.८३ प्रतिशत) बीमाशुल्क उठाएको छ ।

निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब ६८ करोड (निर्जीवन बीमा व्यवसायको १३.२७ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम ३९ करोड रुपैयाँ (निर्जीवन बीमा व्यवसायको १.९३ प्रतिशत) बीमाशुलल्क उठाएको छ । समीक्षा अवधिमा हिमालयन जनरलको २३, ओरिन्टल इन्स्योरेन्सको ४ र नेशनल इन्स्योरेन्सको साढे ३ प्रतिशत धेरैले बीमाशुल्क संकलन घटेको हो ।

लाइफ इन्स्योरेन्सतर्फ सानिमा लाइफको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ । कम्पनीले गतआवको ८ महिनामा ४१ करोड रुपैयाँमात्रै बीमाशुल्क उठाएकोमा २०७.३२ प्रतिशतले बढाउँदै चालु आवको फागुनमसान्तसम्ममा १ अर्ब २६ करोड संकलन गरेको छ ।

निर्जीवन बीमा व्यवसायतर्फ अजोड इन्स्योरेन्सको व्यवसाय वृद्धि उच्च देखिएको छ । गत आवको ८ महिनामा ५६ करोड रुपैयाँ मात्रै बीमाशुल्क उठाएकोमा ५८.९३ प्रतिशतले बढाउँदै चालु आवको फागुन मसान्तसम्ममा ८९ करोड संकलन गरेको छ ।

 

बीमा समितका कार्यकारी निर्देशक राजु रमण पौडेलले बीमा व्यवसायको आकार हरेक वर्ष झै अहिले पनि बढ्दै गइरहेको बताए । कोभिड-१९ को कारण केही पछि परेपनि कोभिडको महामारी घट्दै गएपछि व्यवसाय विस्तारमा कम्पनीहरु एग्रेशिभ रुपमा अघि बढेकाले व्यवसायमा कमी नआएको उनले बताए । जीवन बीमा कम्पनीमा अभिकर्ता पुग्न थाल्नु तथा निर्जीवन बीमा कम्पनीले मार्केटिङ्गलाई टाग्रेट दिनु बीमा व्यवसाय बढ्नु अर्को कारण रहेको उनको बुझाई छ ।

बजारमा नयाँ कम्पनी आउनु, कम्पनीमा दक्ष जनशक्तिको अभाव घट्दै जानु बजार बढ्नुको कारण रहेको उनको दाबी छ । अघिल्ला वर्षहरुको तुलनामा बीमा व्यवसायको वृद्धिदर सन्तोषजनक रहेको उनको भनाई छ । आर्थिक वर्षको अन्तिम अन्तिम समयमा बीमा व्यवसाय बढ्ने समय रहेको उनले बताए । जीवन बीमा व्यवसायतर्फ व्यवसायको वृद्धिदरलाई मात्रै हेर्नु भन्दा पनि ल्याप्सको दरलाई हेर्नुपर्ने आवश्यक रहेको उनको तर्क छ ।

जीवन बीमातर्फ बीमा शुल्क वृद्धिदर उच्च देखिएको कम्पनी सानिमा लाइफले पछिल्लो समय कम्पनीमा उचित व्यवस्थापन र कर्मचारीको साथले गर्दा व्यवसाय बढेको बताएको छ । कम्पनीका मार्केटिगं प्रमुख गणेश चौलागाईले कम्पनीले प्रमुख कार्यकारी अधिकृत पाउनु, शाखा सञ्जाल विस्तार हुनुलाई व्यवसाय बढ्नुको कारण रहेको बताए ।

कम्पनीले कर्मचारीलाई गर्ने व्यवहार, अभिकर्तालाई हेर्न हेराई, अभिकर्ता लक्षित मोटिभेशन कार्यक्रमले गर्दा व्यवसाय बढाउन सफल भएको चौलागाईको भनाई छ ।

https://notebazar.com/news/2021-03-27-3

 ✍️ नोटबजार संवाददाता।

 काठमाण्डौं। १६चैत्र, २०७७, सोमबार / Mar 29, 2021 13:34:pm


जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको आठ महिनामा २८ अर्ब रुपैयाँ नयाँ बीमा व्यवसाय विस्तार गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले फागुन मसान्तसम्ममा २८ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये फागुनमा मात्रै ३ अर्ब ३१ करोड रहेको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाएको हो । जसमध्ये फागुन महिनामा मात्रै कम्पनीले ७३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको हो ।

नेपाल लाइफ पछि नेशनल, यूनियन र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले धेरै नयाँ व्यवसाय विस्तार गरेका छन् । यी कम्पनीले क्रमशः दुई अर्ब ६१ करोड, दुई अर्ब ३५ करोड र दुई अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको फागुन महिनासम्ममा ११ बीमा कम्पनीहरुले एक अर्ब भन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

  • एक अर्ब धेरैको नयाँ व्यवसाय गर्ने एघार जीवन बीमा कम्पनी 

चालु आवको फागुन महिनासम्ममा ११ जीवन बीमा कम्पनीले अर्ब भन्दा माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल लाइफ, नेशनल, यूनियन लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल), सूर्या, एशियन, रिलायबल, ज्योति, गुँरास, सिटिजन र रिलायन्स लाइफले अर्ब भन्दा माथिको नयाँ व्यवसाय गरेका हुन् ।

नेपाल लाइफले ६ अर्ब ८ करोड, नेशनलले दुई अर्ब ६१ करोड, यूनियनले दुई अर्ब ३५ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले दुई अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, सूर्याले १ अर्ब ४६ करोड, एशियनले १ अर्ब ४४ करोड रुपैयाँ, रिलायबलले १ अर्ब ४३ करोड रुपैयाँ, ज्योतिले १ अर्ब २१ करोड रुपैयाँ, गुराँसले १ अर्ब २० करोड रुपैयाँ, सिटिजनले १ अर्ब ११ करोड र रिलायन्सले १ अर्ब ५ करोड रुपैयाँ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

  • आठ कम्पनीको एक अर्बभन्दा कम

चालु आवको आठ महिनामा ८ वटा कम्पनीले एक अर्ब भन्दा कम प्रथम बीमाशुल्क संकलन गरेका छन् । अर्ब भन्दा कम प्रथम बीमा शुल्क संकलन गर्ने कम्पनीहरुमा मेट लाइफ, प्राइम, आइएमई, सानिमा, प्रभु, सन नेपाल, राष्ट्रिय बीमा संस्थान र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।

मेट लाइफले ९८ करोड रुपैयाँ, प्राइमले ९५ करोड रुपैयाँ, आइएमईले ८३ करोड रुपैयाँ, सानिमाले ८१ करोड रुपैयाँ, प्रभुले ६२ करोड रुपैयाँ, सन नेपालले ६० करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ५८ करोड रुपैयाँ र महालक्ष्मीले ४७ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाउन सफल भएका छन् ।

  • फागुन महिनामा ३ अर्ब २१ करोड

चालु आवको आठौं महिना अर्थात फागुन महिनामा मात्रै १९ जीवन बीमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

फागुन महिनामा १९ वटै जीवन बीमा कम्पनीले एक अर्ब भन्दा कम प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले ७३ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ । नेशनल लाइफले ३३ करोड, यूनियनले ३२ करोड रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

  • प्रथम बीमाशुल्क भनेको के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमाशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् । त्यस्तै, थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नवीकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक/फरक हुन्छ ।
https://notebazar.com/news/2021-03-29-15

Monday, March 22, 2021

स्वास्थ्य बीमा गरेका १४ लाखले लिए सेवा, नवीकरण गर्नेको संख्या ७० प्रतिशत

 विजया बाँस्कोटा
 काठमाण्डौं।
 १०चैत्र, २०७७, मंगलवार 

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएर १४ लाख बीमितले उपचार सेवा लिएका छन् । विं.सं २०७२ सालमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट पाँच वर्षमा सो संख्यामा बिमितले सेवा पाएका हुन् ।

स्वास्थ्य बीमा बोर्डको चौमासिक प्रगति विवरण अनुसार चैत्र १ गतेसम्म १४ लाख ३० हजार जना बीमितले उपचार सेवा लिएका हुन् । कुल सहभागीमध्ये ३८.५४ प्रतिशत बीमितले सेवा लिएका हुन् ।

बोर्डको तथ्यांक अनुसार बीमितहरुले सानादेखि ठूला रोगहरुको सेवा लिनका लागि समेत स्वास्थ्य संस्था गएको देखिएको छ । प्राथमिक रक्तचाप, पेट दुखाई, मधुमेह, टाउको दुखाई, घाँटी दुखाई, ज्वरो लगायतका रोगहरुको उपचारका लागि बीमित स्वास्थ्य संस्था पुगेका हुन् । ठूला रोगको तुलनामा साना रोगका कारण स्वास्थ्य संस्था पुग्ने बीमितको संख्या उच्च छ । साधारणको तुलनामा जटिल (शल्यक्रिया) प्रकृतिका रोगमा उपचार गराउनेको संख्या भने न्यून रहेको छ ।

यस अवधिमा ९२ हजार १४ जनाले प्राथमिक रक्तचापको सेवा लिएका छन् । ९८ हजार ५६१ जना जनाले पेट दुखाई, ६० हजार ७३५ जनाले मधुमेह, ३० हजार ७९३ जनाले टाउको दुखाई, २९ हजार ८२२ जनाले घाँटी र ३२ हजार २९ जनाले ज्वरोको सेवा लिएका हुन् ।

चैत्र १ गतेसम्म यस कार्यक्रममा ३७ लाख १० हजार ९६२ जना सहभागी भएका छन् । यस अवधिमा बीमित परिवारको संख्या ७ लाख ४२ हजार १९२ जना रहेको छ ।

  • नवीकरण संख्या घट्दो

बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार स्वास्थ्य बीमामा नविकरण गर्नेको संख्या घटेको देखिन्छ । गत वर्षहरुमा स्वास्थ्य बीमा नविकरण गर्नेको संख्या ७५ प्रतिशत रहँदै आएको यो अवधिमा ७० प्रतिशतमा सीमित भएको छ ।

सबै नेपालीलाई सरकारले ५ वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रम पु¥याउने लक्ष्य सहित विसं २०७२ सालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रमको प्रचार प्रसार प्रर्याप्त नहुनु, कार्यक्रम अन्तर्गत उपचार गर्ने संस्थाको गुणस्तर कमजोर हुनु लगायतका कारणले सोचे अनुसार लक्ष्य भेटाउन नसकिएको स्वास्थ्य बीमा बोर्डका एक कर्मचारीले नोटबजारलाई बताए ।

देशमा कोरोना भाइरस संक्रमण फैलनु यसको मुख्य कारण रहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाको भनाई छ ।

  • ७ अर्ब संकलन, साढे २ अर्ब भुक्तानी

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा सहभागी भएका बीमितबाट करीब ७ अर्ब रुपैयाँ रकम संकलन गरेको छ । चैत्र १ गतेसम्म बीमितबाट ६ अर्ब ९७ करोड ५८ लाख ९३ हजार २७५ रुपैयाँ संकलन गरेको बोर्डको तथ्यांक छ ।

त्यस्तै, बोर्डले यस अवधिसम्ममा २ अर्ब ७६ करोड ७८ लाख ८० हजार रुपैयाँ सेवा प्रदायक संस्थालाई भुक्तानी गरेको छ । यो रकम कुल संकलनको रकमको ३९.६८ प्रतिशत हुन आउँछ ।

  • सेवा गुणस्तरिय नभएको गुनासो

सबै नागरिकलाई सर्वसुलभ स्वस्थ्य सेवा उपलब्ध गराउनका लागि सरकारले न्यूनतम प्रिमियममा नै परिवारको बीमा गर्ने सुरुवात गरेपनि यो कार्यक्रमको सेवाप्रति सेवाग्राही भने सन्तुष्ट हुन सकिरहेको पाइँदैन ।

सरकारले बीमामा सरिक भएका बीमितलाई सेवा दिनका लागि सम्झौता गरेका स्वास्थ्य संस्थाबाट गुणस्तरिय सेवा पाउन नसकेकेको बीमितको गुनासो छ ।

स्वास्थ्य सेवा लिन जाँदा अस्पतालका फामेर्सीमा डाक्टरले सिफारिस गरे बमोजिमको औषधी नपाईने, घण्टौं लाइन बस्नुपर्ने लगायतका समस्या खेप्नु परेको बीमितहरुको गुनासो छ ।

  • लक्षित वर्गमा पहुँच पुग्न बाँकी

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अझै पनि लक्षित वर्गको पहुँचमा पुग्न बाँकी रहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौला बताउँछन् । लक्षित वर्गको स्वास्थ्य बीमाको पहुँच पुर्याउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

स्वास्थ्य बीमा कार्यक्रम ६९ जिल्लाका ६७३ स्थानीय निकायमा विस्तार भएको छ । थप दुई जिल्लामा कार्यक्रम विस्तारको तयारीमा रहेको बोर्डले जानकारी दिएको छ । २०७२ चैत्र महिनादेखि पाइलट प्रोजेक्टका रुपमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अझैपनि ८ जिल्लाका ८० स्थानीय तहमा स्वास्थ्य बीमाको सेवा पुग्न नसकेको देखिन्छ ।

यस बीमा कार्यक्रम अन्तर्गत अति गरिब बीमितको जनसंख्या ४ लाख ५९ हजार ३२६ रहेको छ भने ४ लाख १५ हजार ९९८ ज्येष्ठ नागरिक पनि सहभागि भएका छन् । यसैगरी १२ हजार ७९१ एचआइभी संक्रमित, ५२ हजार ४८५ अति अशक्त अपांग, १ हजार ९१९ जना कुष्ठरोगी, १ हजार ५४७ एमडीआरटी र ४७ हजार २०१ महिला स्वास्थ्य स्वयंसेविका सहभागी भएका छन् ।

  • स्वास्थ्य बीमाको सुविधा कसरी लिने ?

स्वास्थ्य बीमा बोर्डले पाँच जनाको परिवारलाई एउटा युनिट मानेको छ  । यस कार्यक्रम अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७०० रुपैयाँ थप गर्नुपर्ने हुन्छ  ।

सरकारले स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क बीमाको व्यवस्था गरेको छ  । उपचार सुविधाका लागि बोर्डले विभिन्न स्वास्थ्य चौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ  ।

बीमितले उपचार सेवा उपभोग गर्नका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्य चौकी वा तोकिएको अस्पताल जानुपर्ने हुन्छ  ।

https://notebazar.com/news/2021-03-23-5

अभिकर्ता संघबाट गैरकानुनी रुपमा कमिशन कटौति गरेको भन्दै बीमा समितिमा दोस्रो पटक उजुरी

✍️ विजया बाँस्कोटा
 काठमाण्डौं।
 ९चैत्र, २०७७, सोमबार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध अभिकर्ता सुमित्रा भट्टले आफूले पाउनुपर्ने कमिशन रकम गैरकानुनी रुपमा काटिएको भन्दै नियामक निकाय बीमा समितिमा उजुरी दर्ता गराएकी छिन् ।

आफुले कम्पनीबाट प्राप्त गर्ने कमिशनको रकम गैरकानुनी रुपमा कटौति गरेको भन्दै गत असोज २४ गते भट्टले पहिलो पटक बीमा समितिमा उजुरी दर्ता गरेकी भट्ट दोस्रो पटक फागुन २८ गते समिति पुगेकी हुन् ।

असोजको उजुरी माथि कुनैपनि कारबारही नगरेको भन्दै भट्टले फागुन २८ गते पुनः न्यायका लागि दोस्रो पटक समितिको ढोका ढकढकाएकी हुन् ।  कम्पनीमा क्रियाशिल पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफ र कम्पनी मिलेर गैरकानुनी रुपमा आफ्नो कमिशन रकम कटौति गरेको उनको आरोप छ ।

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफले कम्पनीसँगको मिलोमतोमा अभिकर्ताको कमिशनबाट वार्षिक ५ हजार रुपैयाँ कटौति गरेको भट्टले बताइन् । आफु बीमक समितिको सदस्य समेत नभएको अवस्थामा जानकारी बिना नै बीमक समिति नेपाल लाइफले आफ्नो आम्दानीबाट रकम काटेको अभिकर्ता भट्टको दाबी छ ।

कम्पनीबाट अभिकर्ता कमिशन वापत प्राप्त भएको रकम आफुलाई सोध्दै नसोधी खाताबाट पटक पटक रकम कटौति गरेको उजुरी लिएर नियामक निकाय बीमा समिति पुग्दा पनि संघ उपर बीमा समितिले कुनै कारबाही नगरेको भट्टले बताइन् ।

अभिकर्ताहरुले आफुले पाउनुपर्ने सेवा सुविधाबाट रकम कटौति गरेको उजुरी दर्ता गरेको ५ महिना वितिसक्दा पनि न्याय पाउन नसकिएको गुनासो पीडित अभिकर्ताहरुको छ । बीमा समितिले कारबाहीको प्रक्रिया नबढाएको उनीहरुको आरोप छ ।

  • सदस्यता नलिएका अभिकर्ताबाट समेत रकम असुली

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफले सदस्यता नलिएका अभिकर्ताबाट पनि सदस्य सरह रकम असुली गर्दै आएको उजुरीकर्ता अभिकर्ताहरुले आरोप लगाएका छन् ।

नेपाल लाइफमा देशभरमा ७० हजार अभिकर्ता आबद्ध छन् । श्रम ऐन अनुसार यस्ता समिति वा संघले आफ्ना सदस्य अभिकर्ताबाट लेबी संकलन गर्न पाउने व्यवस्था छ । अभिकर्ताको हक अधिकारका लागि भन्दै गठित भएको संघको सदस्यताको लागि अनिवार्य गरिएको छैन तर, इच्छुक अभिकर्ताले उक्त समितिको सदस्यता लिन पाउने व्यवस्था छ ।

तर, बीमक समिति नेपाल लाइफले भने आफु खुशी सदस्यता नलिएका सदस्यबाट पनि गैर सदस्यहरुबाट समेत रकम असुली गर्दै आएको अभिकर्ता भट्टको आरोप छ । उनका अनुसार समितिले सदस्यता नलिएका अभिकर्ताबाट पनि ५ हजार देखि १५ हजार रुपैयाँसम्म संकलन गर्दै आएको छ । कम्पनीले अभिकर्ताको खातामा कमिशन रकम जम्मा गर्नुअघि अभिकर्तालाई जानकारी नदिई समितिलाई रकम प्रदान गर्ने गरेको पीडित अभिकर्ताको आरोप छ ।

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफले १२ लाख ५० हजार रुपैयाँ बीमाशुल्क बुझाउने अभिकर्ताबाट ५०० रुपैयाँ कट्टी गर्ने गरेको छ । २५ लाख बीमाशुल्क बुझाउनेबाट ७०० रुपैयाँ, ५० लाख रुपैयाँ बुझाउनेबाट ८०० रुपैयाँ, ७५ लाख रुपैयाँ बुझाउनेबाट ९०० रुपैयाँ, १ करोड रुपैयाँ बुझाउनेबाट १ हजार रुपैयाँ, १ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट १ हजार ५०० रुपैयाँ, २ करोड रुपैयाँ बुझाउनेबाट २ हजार रुपैयाँ समितिले काट्ने गरेको ती अभिकर्ताको आरोप छ ।

त्यस्तै, उक्त समितिले २ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट २ हजार ५००रुपैयाँ, ३ करोड रुपैयाँ बुझाउनेबाट ३ हजार रुपैयाँ, ३ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट ३ हजार ५००रुपैयाँ, ४ करोड रुपैयाँ बुझाउनेबाट ४ हजार रुपैयाँ, ५ करोड रुपैयाँ बुझाउनेबाट ५ हजार रुपैयाँ, ७ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट ७ हजार रुपैयाँ, १० करोड रुपैयाँ बुझाउनेबाट १० हजार रुपैयाँ र १० करोड रुपैयाँ भन्दा बढी बुझाउनेबाट २० हजार रुपैयाँ लिँदै आएको छ ।

  • बुझेर कारबार्ही गर्ने/नगर्ने निर्णय लिन्छुः बीमा समितिका अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले भने यस बारेमा आफू कहाँ अहिलेसम्म कुनै जानकारी आई नपुगेको बताए ।

नोटबजार डटकमसँग को कुराकानीमा यस विषयमा बुझेर कारबार्ही गर्ने/नगर्ने निर्णय लिने उनले बताए । 

अध्यक्ष सिलवालले भनेः “अभिकर्ताले पाउनुपर्ने रकम संघले दिने नभई कम्पनीले दिने हो, संघले कसरी पैसा काट्यो, के भएको रहेछ म बुझ्छु ।”

गत असोजमा सुमित्रा भट्टसँगै धनगढीकी स्नेहा भट्ट, जागुराम चौधरी सुख्खड, राजेन्द्र चौधरी सुख्खड, कालुराम चौधरी धनगढी र रामप्रसाद चौधरी सुख्खडले समेत समितिले गैरकानुनी रुपमा रकम कटौती गरेको भन्दै समितिमा उजुरी दिएका थिए ।

असोजमा उजुरी दर्ता गरेका धनगढीका कालुराम चौधरी लगायत अन्य अभिकर्ताहरुले भने दोस्रो पटक उजुरी दर्ता गराएनन् । आफुहरुले दर्ता गराएको पहिलो उजुरी उपर नै बीमा समितिले केही कारबाही नगरेपछि पुनः उजुरी दर्ता नगरेको चौधरीले बताए ।

आफुले दुःख गरेर कमाएको रकम आफैँलाई सोध्दै नसोधी कटौति गरेको उजुरी नियामक निकाय बीमा समितिमा दर्ता गराएपनि पीडितहरुको पक्षमा केही कदम नचालेकोमा उनले दुखेसो पोखे ।

  • ‘नियम विपरित रकम काटिएको छैन’: राजेन्द्र अमात्य, अध्यक्ष, पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफ

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले भने नोटबजारसँगकोे कुराकानीमा कुनै पनि अभिकर्ताबाट नियम विपरित रकम नकाटेको दाबी गरे ।

अभिकर्ताहरुकै हकहीतको लागि अभिकर्ताद्धारा नै स्थापित भएको समितिबाट अभिकर्ताको अधिकार विपरित रकम नकाटिएको उनको प्रष्टोक्ती छ ।

“अभिकर्ता संघ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सम्झौता अनुसार अभिकर्ताहरुसँग पैसा लिन्छौं, र उहाँहरुकै हक हीतमा खर्च गर्छौँ” अमात्यले भने ।

“समितिको सदस्यहरुको मात्रै रकम काटिएको छ । समितिमा दिएको उजुरी सत्य होईन,” उनले भने ।

संघले अभिकर्ताबाट फरक फरक रुपमा लेबी उठाउने गरेको उनले नोटबजार डटकमसँग बताए । सामान्य अभिकर्ताबाट हरेक बीमालेखको १० रुपैयाँ लेबी लिने गरेको उनले जानकारी दिए । “अभिकर्ताबाट संकलन गरिएको रकम केन्द्रीय कमिटीले ६० प्रतिशत र शाखा स्तरका कमिटीले ४० प्रतिशत खर्च गर्न पाउने नियम छ सोही रकमबाट अभिकर्ताहरुको हक हीतका लागि खर्च गर्ने काम हुन्छ” उनले भने ।

https://notebazar.com/news/2021-03-22-10

Friday, March 19, 2021

सम्झनामा आउने त्यो पल



गाउँले जीवन । वर्षमा एकदिन आउने सरस्वति पुजा । साच्चै नै रमाईलो लाग्थ्यो । बिहान उठेर चिसो पानीमा नुहाएर घरको केही काम सकाईन्थ्यो । विधालय जानु भन्दा अघि घरमा भए भरका पुरानादेखि नयाँ सबै किताब कापीका प्रत्येक पन्ना अबिरले राताम्मे पार्ने रहर । त्यो रहरलाई साथ दिन्थे लाली गुँरास, पहेलो जाई फुल र बन मालाले । पुगे सबैमा नपुगे सिङ्गो किताब वा कपीमा मयुरको एउटा प्वाँख राखिन्थ्यो । यी सबै कुराले किताब र कपीका पन्ना रङ्गाए पछि सरस्वति माता प्रसन्न भएर पढ्न जान्न बनाउने आशाले मन भरिभराउँ हुन्थ्यो ।

खाएर पुजा गर्नु हुँदैन भन्ने आस्थालाई पछ्याँदै गउाँभरिका साथिसँग विधालयको गेट पुगिन्थ्यो । अघिल्लो दिन नै सरस्वति माताको फोटो राखेर बनाईएको मन्दिरमा धेरै पढ्न आवोस् भनेर पुजा गर्न बसेका सबै साथिहरुको लाइनमा सामेल भईन्थ्यो । पुजा आज सकाएपछि प्रसादका रुपमा बुनिया, सुन्तला र जुनारका केही केस्रा खान पाईन्थ्यो । 

त्यसपछि यस दिनका लागि भनेर केही दिनअघिदेखि नै साँस्कृतिक कार्यक्रमका लागि पूर्व तयारी भए अनुसार नाँचगाँन गरेर सरस्वति मातालाई प्रसन्न पारिन्थ्यो ।

बीमा समितिबाट माघ महिनामा ६ बीमा कम्पनीको नयाँ पोलिसी स्वीकृत

नोटबजार संवाददाता।
 काठमाडौं।
 ४चैत्र, २०७७, बुधबार 

माघ महिनामा बीमा समितिबाट ६ बीमा कम्पनीका नयाँ बीमा योजना स्वीकृत भएका छन् । ४ जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले नयाँ बीमा योजना जारी गर्ने स्वीकृत पाएका हुन् ।



जीवन बीमातर्फ माघ महिनामा बीमा समितिबाट राष्ट्रिय बीमा संस्थान, सूर्या, महालक्ष्मी र यूनियन लाइफले नयाँ पोलिसी जारी गर्ने स्वीकृति पाएका हुन् । निर्जीवन बीमातर्फ सगरमाथा र नेको इन्स्योरेन्सले नयाँ बीमा योजना जारी गर्ने स्वकीृत पाएका हुन् ।

युनियन लाइफले जीवन आधार नामक बीमा योजना जारी गर्न समितिबाट माघ २५ गते स्वीकृत पाएको हो ।

कम्पनीले माघ २९ गतेदेखि उक्त बीमालेख जारी गरेको जानकारी दिएको छ ।

समितिले सुर्या लाइफको सुर्या चौरासी बीमा योजना र महालक्ष्मी लाइफको महालक्ष्मी धानधन्य बीमा योजना माघ २५ गते स्वीकृत गरेको हो । त्यस्तै, राष्ट्रिय बीमा संस्थानको सामुहिक म्यादी जीवन बीमा योजना माघ २२ गते स्वीकृत गरेको हो ।

समितिले निर्जीवन बीमातर्फ सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्सको नयाँ बीमा योजना जारी गर्ने स्वीकृत गरेको छ । सगरमाथा इन्स्योरेन्सको सगरमाथा आरोग्य हेल्थ इन्स्योरेन्स माघ १४ गते स्वीकृत भएको हो भने नेको इन्स्योरेन्सको कम्पेन्सेसन इन्स्योरेन्स फर क्लिनिकल ट्रायल पोलिसी माघ ५ गते स्वीकृत भएको हो ।

  • महालक्ष्मी धनधान्य बीमा

महालक्ष्मी लाइफले “शान्ती हुन्छ मनको वर्षा हुन्छ धनको” भन्ने सन्देशका साथ महालक्ष्मी धनधान्य बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले १५ वर्ष र २० वर्ष अवधिको बीमा योजना ल्याएको हो । बीमालेख चालु रहि बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमालेखले आर्जन गरेको बोनस रकम एकमुष्ठ भुक्तानी गरिने छ ।

इन्स्योरेन्सले ल्याएको १५ वर्षे यस योजनामा बीमालेख खरिद गरेको ५ वार्षपछि नै % नगद फिर्ता, १० वर्ष पछि फेरि २०%र बाँकी ६०% कुल बोनस फिर्ता दिने जनाएको छ । २० वर्षे बीमा योजना खरिद गर्ने बीमितले २०%, १५ वर्ष पछि फेरि २०% र २० वर्ष पछि ६०% र कुल बोनस फिर्ता पाउनेछन् ।

  • यूनियन लाइफको जीवन आधार बीमा योजना

यूनियन लाइफ इन्स्योरेन्सले वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनालाई बन्द गर्दै नयाँ बीमा योजना जीवन आधार बीमा योजना ल्याएको छ । बीमा समितिबाट स्वीकृत कम्पनीको उक्त बीमा योजना माघ २९ गतेदेखि जारी गरिएको जनाएको छ ।

  • सूर्या चौरासी बीमा योजना

सूर्या लाइफ इन्स्योरेन्सले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन दीर्घ जीवन, समृद्ध भविष्य सन्देश सहित नयाँ बीमा योजना सूर्या चौरासी बीमा योजना सञ्चालनमा ल्याएको हो । भन्ने सन्देशका साथ आज एक कार्यक्रमका बीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो ।

बीमा योजना खरिद गर्ने बीमित जीवित रहेसम्म लागू हुने बीमा योजनामा बीमा शुल्क भुक्तानी अवधि पछि आर्जित बोनस एकमुष्ठ प्राप्त हुने बताइएको छ ।

आर्जित बोनस लिएपछि प्रत्येक वर्ष ८२ वर्षसम्म बीमाङ्कको ६ प्रतिशत प्रतिफल प्राप्त हुने र ८३ वर्ष पुगेपछि बीमाङ्कको १५० प्रतिशत रकम पाइने इन्स्योरेन्सले जनाएको छ ।

  • राष्ट्रिय बीमा संस्थानको सामुहिक म्यादी जीवन बीमा

राष्ट्रिय बीमा संस्थानले आफ्नो ५४ औँ वार्षिकोत्सवको अवसर पारेर सामुहिक म्यादि जीवन बीमा योजना नामक नयाँ बीमा योजना ल्याएको छ । यो बीमा योजना कम्तिमा १० जना सदस्य भएको संघ संस्थाका कर्मचारीहरुमा लक्षित रहेको कम्पनीले जानकारी दिएको छ ।

  • ५ महिनामा १३ बीमा कम्पनीका १९ नयाँ पोलिसी स्वीकृत

१३ बीमा कम्पनीले पाँच महिनामा १९ वटा नयाँ पोलिसी जारी गर्ने स्वीकृत पाएका छन् । बीमा समितिले ७ जीवन बीमा कम्पनी र ६ निर्जीवन बीमा कम्पनीको १९ वटा नयाँ पोलिसी स्वीकृत गरेको हो ।

जिवन बीमा कम्पनीतर्फ रािष्ट्रय बीमा संस्थान, यूनियन, सिटिजन, रिलायन्स, एशियन, ज्योति, सूर्या लाइफको नयाँ पोलिसी स्वीकृत भएको हो । निर्जीवन बीमा कम्पनीतर्फ शिखर, सगरमाथा, प्रीमियर, नेको, जनरल र एभरेष्ट इन्स्योरेन्सको नयाँ बीमा योजना जारी गर्ने स्वीकृत पाएका हुन् ।

समितिले यूनियन लाइफ, राष्ट्रिय बीमा संस्थानका दुई दुई वटा बीमा योजना स्वीकृत गरेको छ । सिटिजन लाइफका तीन वटा नयाँ बीमा योजना स्वीकृत भएका छन् । त्यस्तै, शिखर इन्स्योरेन्सको पनि दुई वटा नयाँ बीमा योजना स्वीकृत भएका छन् ।

https://notebazar.com/news/2021-03-17-24

Wednesday, March 17, 2021

पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन टोलीले बुझायो प्रतिवेदन, कति वटाले पाउलान् लाइसेन्स ?

नोटबजार संवाददाता।
 काठमाडौं।
 ४चैत्र, २०७७, बुधबार 

बीमा समितिद्धारा नेपालमा नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन गर्न गठीत टोलीले अध्ययन प्रतिवेदन बुझाएको छ । समितिका सल्लाहाकार भोजराज शर्माको संयोजकत्वमा गठित अध्ययन टोलीले (आज) चैत्र ४ गते समितिका अध्यक्ष सामु अध्ययन प्रतिवेदन बुझाएको हो ।


अध्ययन टोलीका संयोजक भोजराज शर्माले अध्ययनको फाइनल प्रतिवेदन (आज) चैत्र ४ गते समितिमा बुझाएको जानकारी दिए । समितिले बुझाएको प्रतिवेदन अध्यक्षले हेरेर, बोर्डमा राखेपछि औपचारिक निर्णय बाहिर आउने उनले जानकारी दिए ।

समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अध्ययन टोलीले आफु समक्ष प्रतिवेदन बुझाएको नोटबजारलाई जानकारी दिए । उक्त अध्ययन टोलीले बुझाएको प्रतिवेदनका आधारमा मात्र पनि ठोस् निर्णय लिन नसकिने बताए । “अध्ययन टोली मार्केट कस्तो छ भन्ने बुझ्नका लागि हो, अध्ययन टोलीको निष्कर्षलाई लिएर मात्रै तत्कालै एक्सनमा जाने कुरा त हुँदैन ।” उनले भने ।

“अध्ययन टोलीले बुझाएको प्रतिवेदनबाट बजारको बारेमा जानकारी हुन्छ, अध्ययन टोलीको प्रतिवेदनलाई लिएर अहिले कुनै ठोस निर्णय भएको छैन् ।” उनले भने । प्रतिवेदनमा के छ भन्ने कुरा फुकाउनै बाँकी रहेको भन्दै उनले भने “हामी कहाँ अध्ययन टोलीले अध्ययन गरि तयार पारेको प्रतिवेदन आयो, अब त्यसलाई खोल्नु पर्यो, सञ्चालक समितिले बुझ्नु पर्यो अनि निष्कर्ष आउँछ ।”

बीमा समितिद्धारा गठीत नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन टोलीले फागुन १९ गते बुधबारदेखी अध्ययन कार्य शुरु गरेको थियो । अध्ययन टोलीमा समितिका सल्लाहारकार भोजराज शर्मासहित बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे, चार्टर्ड एकाउटेण्ट सुजन आचार्य रहेका थिए । समितिले उक्त अध्ययन टोलीलाई अध्ययन कार्यको लागि १५ दिनको समय दिएको थियो । समितिले दिएको समयमा नै अध्ययन टोलीले अध्ययनको प्रतिवेदन बुझाएको हो ।

नेपाली बीमा बजारमा पुनर्बीमा व्यवसायको लाइसेन्सको लागि चारवटा कम्पनीहरु लागि परेका छन् । प्रस्तावित काठमाण्डौं, अन्नपूर्ण, पु्रडेन्सियल र जेन्यून रि नामक कम्पनीहरुले आवश्यक तयारी गर्दै स्थापनाका लागि परेका हुन् । प्रस्तावित कम्पनीहरुले स्थापनाको लागि अन्तिम तयारीमा पुगेको जानकारी समेत दिएका छन् ।

https://notebazar.com/news/2021-03-17-17

Tuesday, March 16, 2021

नयाँ पुनर्बीमा कम्पनी 'जेन्यून रि' स्थापनाको अन्तिम चरणमा

 ✍️ नोटबजार संवाददाता।

 काठमाण्डौं। ३चैत्र, २०७७, मंगलवार 

प्रस्तावित नयाँ पुनर्बीमा कम्पनी जेन्यून रि इन्स्योरेन्स स्थापनाको अन्तिम चरणमा पुगेको छ ।

बीमा समितिका पूर्व कायम मुकायम निर्देशक तथा प्रस्तावित कम्पनीको प्रमुख योजनाकार समेत रहेका श्रीमान् कार्कीले कम्पनी स्थापनाको लागि प्रबन्धपत्र तयार पार्नेदेखि लगानी जुटाउनेसम्मको काम अन्तिम चरण पुगेको नोटबजारलाई जानकारी दिए ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहने कम्पनीले ७ अर्ब रुपैयाँ संस्थापक समुहको र तीन अर्ब रुपैयाँ सर्वसाधारणका लागि शेयर जारी गर्ने प्रमुख योजनाकार कार्कीले बताए ।

उनका अनुसार संस्थापक समुहको ७ अर्बमध्ये ३ अर्ब संस्थागत र ४ अर्ब व्यक्तिगत लगानीकर्ताहरुका लागि छुट्टाइएको छ ।व्यक्तिगतको प्रतिबद्धता आइसकेको छ । संस्थापकलाई छुट्टाएको ३ अर्ब रुपैयाँ लगानीका लागि माग भन्दा बढी प्रतिबद्धता आएको उनले जानकारी दिए । 

एउटै कम्पनीलाई सबै रकम लगानी गर्न दिँदा मुहाली बढ्ने हुँदा लगानीको दायरालाई भिन्नभिन्न कम्पनीमा बाँड्ने योजना कम्पनीको छ । “एउटै कम्पनीको मात्र धेरै रकम होल्ड नहोस्, एउटै कम्पनीको हाली मुहाली नहोस् र कम्पनी नियम संगत चलोस् भन्नका लागि छलफलमा छौं” उनले भने । विदेशी साझेदारीको लागि छलफल भईरहेको समेत उनले जानकारी दिए ।

कम्पनीको प्रमुख योजनाकारमा ४२ वर्षसम्म बीमा समितिमा कार्यरत बीमा समितिका कायम मुकायम कार्यकारी निर्देशक श्रीमान कार्की सहित बीमा विज्ञहरु समेत सामेल रहेका छन् । ५८ वर्षदेखि बीमा क्षेत्रमा आबद्ध रहेका केबी बस्नेत र बीमा विज्ञ डा. रविन्द्र घिमिरे बीमा विज्ञका रुपमा आबद्ध रहेका छन् ।

प्रस्तावित कम्पनीको अध्यक्षमा अभियान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा समुन्नती इन्भेष्टमेन्टका सञ्चालक बाबुराम थापा रहेको उनले जानकारी दिए । विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च पदमा रहेका व्यक्तिहरुको सहयोग रहेको उनले जानकारी दिए ।

कम्पनीले लगानीका लागि प्रतिवद्धता जनाएका व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुसँग एक कार्यक्रमका बीच छलफल समेत भैसकेको कार्कीले जानकारी दिए ।

यसभन्दा अघि नै पुनर्बीमा व्यवसायको लाइसेन्सको लागि तीनवटा कम्पनीहरु काठमाण्डौं, अन्नपूर्ण र प्रडेन्सियल रि नामक कम्पनीहरुले आवश्यक तयारी गर्दै स्थापना र इजाजत प्राप्तीका लागि दौडधुप तीव्र बनाइसकेका छन् । जेन्यून रि इन्स्योरेन्स थपिएसँगै बजारमा पुनर्बीमा व्यवसाय गर्ने उद्देश्य सहित स्थापना गर्नखोज्ने कम्पनीको संख्या चार पुगेको छ ।

बीमा कम्पनीको नियामक निकाय बीमा समितिले नेपाली बीमा बजारमा थप पुनर्बीमा कम्पनीको आवश्यकता र सम्भाव्यताको अध्ययनका लागि बीमा समितिका सल्लाहाकार एवं बीमा विज्ञ भोजराज शर्मा सहित बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डे र चार्टर्ड एकाउण्टेण्ट निराज आचार्य रहेको अध्ययन टोली गठन गरेको छ । समितिका सल्लाहाकार शर्माको नेतृत्वमा गठित अध्ययन टोलीले काम सुरु गरिसकेको छ ।

अस्पतालको हेपाइ र फार्मेसीमा औषधि नहुँदा स्वास्थ्य बीमा कार्यक्रम निस्प्रभावि

✍️ विजया बाँस्कोटा
 काठमाण्डौं।

३चैत्र, २०७७, मंगलवार

सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका बिरामीलाई दोस्रो दर्जाको रूपमा हेर्ने र हेप्ने प्रवृति रहेको रामेछाप निवासी सुमन घिमिरेले बताए । आफ्नी श्रीमतीको शल्यक्रिया गर्न टिचिङ अस्पताल आईपुगेका घिमिरेले बीमा योजनामा निःशुल्क तोकिएको औषधि पनि फार्मेसीमा नपाउने गुनासो पोखे । औषधी पाए पनि बीमाको कार्ड हुनेलाई कम गुणस्तरको र सस्तो औषधि दिने गरेको उनको पीडा छ ।

स्वास्थ्य बीमाको कार्ड देखाउने वित्तिकै अस्पतालले गर्ने व्यवहारमा फरक पर्ने सिन्धुली निवासी दामिनी भट्टले बताईन् । शुरु वर्ष आफ्नो परिवारको स्वास्थ्य बीमा गराए पनि सेवा लिनका लागि बढी दुख खेप्नुपर्ने र अस्पतालले गर्ने ब्यवहारका कारण आफुले अर्को वर्ष बीमा नवीकरण नगरेको भट्ट बताउँछिन् ।

सरकारले करिब ६ वर्ष अघि सबै नागरिकमा स्वास्थ्य बीमाको पहुँच पु¥याउने लक्ष्यका साथ सुरु गरेको कार्यक्रम असफल देखिएको छ । स्वास्थ्य बीमा अन्तर्गत सरकारी अस्पतालमा उपचार गर्नुपर्ने, बीमा गरेकालाई अस्पतालले हेप्ने प्रवृति र तोकिएका फार्मेसीमा औषधि नपाइने लगायतका कारणले कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।

सरकारले ल्याएको कार्यक्रममा एकातिर आकर्षण छैन भने अर्कोतिर बीमा गर्ने बीमितले राम्रोसँग सेवा सुविधा पाउन सकिरहेको छ्रैनन् । सेवा उपभोग गर्नका लागि झन्झट खेप्नु परेको स्वास्थ्य बीमा कार्यक्रममा सरिक भएका बीमितहरुको गुनासो छ । सेवा उपभोग गर्न स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल गएका व्यक्तिलाई अस्पतालले हेप्ने गरेको गुनासो बीमितहरुको छ ।

सो कार्यक्रम अन्तर्गत बीमा गरेका व्यक्तिले पनि सेवा उपभोग गर्न अस्पताल पुग्दा अस्पतालले गर्ने व्यवहारका कारण पुनः आफ्नोे बीमा नवीकरण नगरेको बताउँछन् । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गरेका रामेछापका सुमन घिमिरे तथा सिन्धुलीकी दामिनी भट्ट प्रतिनिधि मात्र हुन् । सो कार्यक्रम अन्तर्गत बीमितले उपभोग गर्ने सुविधा गुणस्तरीय हुन नसकेकोमा स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरु पनि सहमत छन् ।

सबै नेपालीलाई सरकारले ५ वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रम पु¥याउने लक्ष्य सहित कार्यक्रम सुरु गरेको थियो । तर, सो अवधि व्यतित भईसक्दा पनि ३७ लाख १६ हजार नागरिक मात्र यस कार्यक्रममा सहभागि भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । यो कार्यक्रमको प्रचार प्रसार प्रर्याप्त नहुनु, कार्यक्रम अन्तर्गत उपचार गर्ने संस्थाको गुणस्तर कमजोर हुनु लगायतका कारणले सोचे अनुसार लक्ष्य भेटाउन नसकिएको स्वास्थ्य बीमा बोर्डका एक कर्मचारीले नोटबजारलाई बताए ।

पछिल्लो समय सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रचार प्रसारमा समेत बोर्डले विशेष ध्यान दिएको छ । प्रचार प्रसारका लागि स्थानीय रेडियो (एफ.एम) हरु मार्फत स्वास्थ्य बीमा सन्देश प्रसारण गर्ने काम भइरहेको बोर्डको भनाई छ । बोर्डले यसै वर्ष सबै जिल्लामा सेवा सुचारु गर्ने योजना सहित काम अघि बढाएको ती कर्मचारीले बताए ।

विं.सं २०७२ चैत्र २५ गते कैलाली, बाग्लुङ र इलामबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ६८ जिल्लामा विस्तार भएको छ  । सरकारले नागरिकको स्वास्थ्य उपचार सम्बन्धि अधिकारलाई बीमा मार्फत सुनिश्चित गर्ने लक्ष्य सहित आर्थिक वर्ष २०७१÷०७२ को बजेटमा स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेको थियो ।

  • सुविधा पाउनै कठिन

स्वास्थ्य बीमा अन्तर्गत सेवा लिनका लागि बढी दुख खेप्नुपर्ने र अस्पतालले गर्ने व्यवहारका कारण यस योजनामा सहभागिता हुनुभन्दा नहुन नै ठीक मान्छन् बीमीतहरु । त्यतिमात्र नभई अस्पतालले कम गुणस्तरको औषधि दिने गरेको समेत उनीहरु बताउँछन् ।

अस्पताल जाँदा बीमाको कार्ड बोकेर घण्टौं लाइनमा बस्नुपर्छ । तर डाक्टरले सिफारिस गरे बमोजिमको औषधि नपाइने गरेको उनीहरुको गुनासो छ ।

  • स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था

विं.सं २०७२ सालमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ६८ जिल्लामा विस्तार भएको छ । हालसम्म यस कार्यक्रममा ३७ लाख १६ हजार ३९२ जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रममा सहभागि हुनेमा जिल्लागत आधारमा सबैभन्दा धेरै झापा जिल्लाका नागरिक समेटिएका छन् । यस जिल्लाका ४ लाख ३६ हजार ९५९ जना नागरिक समेटिएको तथ्यांक बोर्डको छ । त्यस्तै, चितवन र सुनसरीका नागरिकको पनि उत्साहप्रद सहभागिता देखिएको छ । चितवन जिल्लाका २ लाख ९४ हजार ७१७ जना र सुनसरी जिल्लाका २ लाख ९० हजार ७७९ जना नागरिक यस कार्यक्रममा समेटिएका छन् ।

यस्तै, लिङ्गका आधारमा हेर्दा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिन्छ । प्रदेश नम्बर १ मा ६ लाख २० हजार ७५४ जना महिलाको सहभागिता रहँदा पुरुषको संख्या ५ लाख ७६ हजार २९० जना मात्र रहेको छ । अरु प्रदेशमा समेत महिलाको सहभागिता नै उच्च रहेको तथ्यांक बोर्डको छ ।

  • स्वास्थ्य बीमामा पाईने सुविधा, कसरी लिने सुविधा ?

स्वास्थ्य बीमा बोर्डले पाँच जनाको परिवारलाई एउटा युनिट मानेको छ  । यस कार्यक्रम अन्र्तगत एउटा परिवारले ३ हजार ५०० रुपैयाँमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७०० रुपैयाँ थप गर्नुपर्ने हुन्छ  ।

सरकारले स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क बीमाको व्यवस्था गरेको छ  । उपचार सुविधाका लागि बोर्डले विभिन्न स्वास्थ्य चौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ  ।

बीमितले उपचार सेवा उपभोग गर्नका लागि बोर्डले सम्झौता गरेको ती स्वास्थ्य चौकी वा तोकिएको अस्पताल जानुपर्ने हुन्छ  ।

https://notebazar.com/news/2021-03-16-9

Monday, March 15, 2021

चर्चामा रहेका मध्ये कति वटा कम्पनीले पाउलान् पुनर्बीमाको लाइसेन्स ?

विजया बाँस्कोटा
 काठमाडौं।
 २३फाल्गुन, २०७७, आईतवार

बीमा बजारमा पछिल्लो समय नयाँ पुनर्बीमा कम्पनीहरु संचालनमा आउने बिषय चर्चामा रहेको छ । बजारमा पुनर्बीमा व्यवसाय गर्ने उद्देश्य सहित तीन कम्पनी लाइसेन्सका लागि दौडधुप गर्दैछन ।

नेपाली बीमा बजारमा थप नयाँ पुनर्बीमा कम्पनीको आवश्यकता रहेको भन्दैे काठमाडौ, अन्नपूर्ण र प्रुडेन्सियल रि नामक कम्पनीहरु चर्चामा आएका छन् । यी कम्पनीहरुले आवश्यक तयारी गर्दै पुनर्बीमा व्यवसायको लाइसेन्सको लागि दौडधुप तिब्र बनाएका छन् ।

स्थापनको तयारीमा रहेका कम्पनीहरु लाइसेन्स हत्याउन बीमा समिति तथा शक्ती केन्द्र धाउन थालेपछि समितिले नेपाली बीमा बजारमा थप पुनर्बीमा कम्पनीको आवश्यकता र सम्भाव्यताको अध्ययन गर्न अध्ययन टोली गठन गरेको छ । अध्ययन टोलीमा बीमा समितिका सल्लाहाकार एवं बीमा विज्ञ भोजराज शर्मा सहित बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डे र चार्टर्ड एकाउण्टेण्ट निराज आचार्य रहेका छन् । समितिका सल्लाहाकार शर्माको नेतृत्वमा गठित अध्ययन टोलीले समेत काम सुरु गरिसकेको छ ।

पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन गर्न गठित अध्ययन टोलीलाई लिएर बजारमा विभिन्न तर्क विर्तक समेत आएका छन् । बीमासम्बन्धी सरोकारवालहरुले उक्त अध्ययन टोलीलाई लिएर भिन्नभिन्न खालका धारणा राखेको पाईन्छ । बीमा विज्ञ डा. रविन्द्र घिमिरे समितिले औपचारिकताका लागि मात्रै अध्ययन टोली गठन गरेको बताउँछन् ।

“पुनर्बीमा व्यवसायको लाइसेन्स दिने भनेको गम्भिर हो, स्वदेशको बजारलाई मात्रै नहेरि अन्तराष्ट्रिय बजारको पनि अध्ययन गर्नुपर्ने हुन्छ,” घिमिरेले भने, “तर यहाँ त तीन जनाको मात्रै टोली रहेछ, यो औपचारिकताका लागि मात्रै हो, यस्तो विषयमा गहन अध्ययन हुनुपर्ने र अध्ययन टोलीमा समेत बीमा क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरु समावेश गरिनु पर्छ ।”

लाइसेन्स दिनु भन्दा अघि बजारको अध्ययन गर्नु राम्रो काम रहेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नोटबजारलाई बताए । लाइसेन्स दिनु भन्दा अघि बजारको अवस्थालाई अध्ययन गर्नु सकारात्मक रहेको उनको भनाई छ ।

आफैले स्थापना गरेको कम्पनीलाई जगेर्ना नगरी निजी क्षेत्रलाई पुनर्बीमाको लाइसेन्स दिने सरकारको काम गलत रहेको घिमिरेको ठहर छ । “अहिले भईरहेको कम्पनीलाई जगेर्ना गर्ने हो भने थप कम्पनीको आवश्यक छैन्,” घिमिरेले भने,“ यहि कम्पनीलाई अन्तराष्ट्रिय बजारमा चिनाउन सके पुनर्बीमा व्यवसाय वापत विदेशीने रकम रोकिन्छ र विदेशी रकम पनि भित्रिन्छ ।”

पुनर्बीमा कम्पनीको अनुमती दिदाँ बीमा समितिले तोकेको मापदण्डहरु पुरा गरेको, दक्ष जनशक्ति, विदेशी साझेदार, पूँजी संरचना जस्ता विषयलाई विषेश ध्यान दिएर मात्र दिनुपर्ने सरोकारवालहरुको धारणा छ । यता बीमा समितिले भने अध्ययन टोलीले बुझाएको प्रतिवेदनका आधारमा लाइसेन्स दिने या नदिने निर्णय गर्ने बताउँदै आएको छ ।

पुनर्बीमा व्यवसाय सञ्चालन गर्नका लागि गौर आवासीय नेपाली उपेन्द्र महतोको नाम पनि चर्चामा रहेको छ । उनले आफु र भाई विरेन्द्र महत्तोको अगुवाईमा अन्नपूर्ण रि नामक कम्पनी पुनर्बीमा व्यवसायको लागि दर्ता प्रक्रिया अगाडि बढाएको स्रोतले जनकारी दिएको छ । उक्त कम्पनी दर्ताको प्रक्रिया प्रारम्भिक चरणमा रहेको छ । कम्पनीको चूँक्ता पुँजी १० अर्ब रुपैेयाँ हुने बताइएको छ ।

त्यस्तै, पुनर्बीमा व्यवसायको लागि दर्ताको प्रक्रियामा प्रुडेन्सियल रि पनि रहेको छ । स्रोतका अनुसार यो कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, विशाल गु्रप, शाहिल अग्रवाल लगायतको लगानीमा आउन लागेको हो । अन्नपूर्ण, प्रुडेन्सियल र काठमाडौँ रि मध्ये काठमाडौँ रि इन्स्योरेन्सले मात्रै दर्ता प्रक्रियाको काम अन्तिम चरणमा पुर्याएको छ ।

दर्ताको लागि अन्तिम तयारीमा रहेको काठमाडौँ रि का एक संस्थापकले बजारमा १ देखि २ थप नयाँ पुनर्बीमा कम्पनीको आवश्यकता रहेको बताए । हाल सञ्चालनमा रहेको पुनर्बीमा कम्पनी सरकारको भरमा चलेको बताउँदै उनले भने,“सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुले अनिवार्य रुपमा २० प्रतिशत पुनर्बीमाको व्यवसाय दिनुपर्ने सरकारको निर्देशनले गर्दा मात्रै यो कम्पनी चलेको छ, स्वदेशमा मात्रै भर परेको छ ।” उनले कम्पनी दर्ताको सबै तयारी अन्तिम चरणमा रहेको बताए । संस्थापक पूँजी जुटाउने काम देखि लिएर विदेशी साझेदार सँग समेत सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । उनका अनुसार काठमाडौ रि सहकार्य गर्नका लागि दुई विदेशी पुनर्बीमा कम्पनी समेत तयार भइसकेका छन् ।

बीमा समितिको अधयन प्रतिवेदन अनुसार अनुमती पाइने भएपनि अझै समय लाग्न सक्ने देखिन्छ । समितिले अध्ययन प्रतिवेदनको निष्कर्ष अनुसार एक कम्पनीलाई मात्र अनुमती दिने भनेको खण्डमा सबै कम्पनीहरु मिलेर एक भएर आउन सक्ने सम्भावना पनि नरहेको उनले बताए । “बीमा समितिले सबै मिलेर आउनु भनेर अफर गर्न सक्छ, मिलेर जाने सम्भावना चाँही म देख्दिन,” उनले भने । प्रस्तावित सबै कम्पनीलाई पुनर्बीमा व्यवसायको लाइसेन्स दिँदा बीमा बजारले धान्न नसक्ने उनको तर्क छ । “प्रस्तावित सबै कम्पनीलाई पुनर्बीमा व्यवसायको लाइसेन्स दिनहुने अवस्था छैन, अहिलेको आवश्यकता भनेको एउटा मात्रै कम्पनी हो ।”

नेपालमा सञ्चालनमा रहेको पुनर्बीमा कम्पनीले गुणस्तरिय सेवा दिन नसकेको आरोप लागाउँदै ती संस्थापकले भने,“अहिले भएको एउटा कम्पनीमा दक्ष जनशक्ति छैन्, गुणस्तरिय सेवा प्रवाह गर्न सकेको छैन, सरकारले तोकेको व्यापार गरेर बसेको छ ।”अहिले भईरहेको कम्पनीलाई प्रतिस्पर्धी र पुनर्बीमा व्यवसायलाई राम्रो बनाउन र विदेशी रकमलाई रोक्न एउटा कम्पनीलाई मात्रै लाइसेन्स दिनुपर्ने उनको तर्क छ ।

चर्चामा रहेका कम्पनीमध्ये काठमाडौँ रिले पनि सबै प्रक्रिया सकेको छ । बीमा समितिले निवेदन आहवान गरेपछि सबै भन्दा पहिले निवेदन दिन जाने कम्पनीले जनाएको छ । एक हप्ताको अवधिमा काठमाडौँ रिले निजी क्षेत्रको ३ अर्बको लगानीेमा ४ अर्बको प्रस्ताव आईसकेको जानकारी दिएको छ । संस्थागत लगानी करिब २ अर्ब आईसकेको जनाएको छ ।

यसरी पुनर्बीमा व्यवसायका लागि तीन कम्पनीको दैडधुप चलिरहेको छ । केही कम्पनीले कम्पनी दर्ताको अन्तिम प्रक्रिया छन भने कोही पूँजी जुटाउने प्रक्रियामा छन । कुनै भने विदेशी लगानीकर्ता ल्याउने प्रयासमा देखिन्छन् । तर, बीमा समितिले भने पुनर्बीमा कम्पनीको लाइसेन्स वितरणमा ढिला गर्ने दाउमा देखिन्छ । त्यती मात्र नभै समितिले बजारको सम्भाव्यता अध्ययनका लागि नै समिति गठन गरेको भएपनि समिति आफैमा पनि विवादीत देखिएको छ । त्यसैले बीमा समितिले ढिलाईका लागि नभई बजारको बास्तविकताका लागि अध्ययन समिति गठन गरेका आधारहरु दैडधुप गरेका सम्बन्धित कम्पनीहरुलाई दिनुपर्ने देखिन्छ।

https://notebazar.com/news/2021-03-07-19

सरकारी स्वास्थ्य बीमा कार्यक्रम नपुगेको ओखलढुङ्गाको त्यो गाउँ...

बिजया बाँस्कोटा ।
 काठमाडौ ।
 २५पुष, २०७७, शनिबार 

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गाउँ फर्केको २५ औं दिन पुग्यो । सदा झै त्यो बिहानी पनि आमाले पूजा गर्दै गर्दाको घण्टीको आवाजले बिउँझिए । आमाले बजाएको त्यो घण्टीको आवाज कानमा नपरी ओछ्यान नछोड्ने रुटिङ जस्तै भएको छ ।

निन्द्रा खुले पछि दैनिक नित्य कर्मका लागि घरको माथिल्लो तलाबाट झर्दै थिए । आमा पुजा सकेर भान्सा कोठामा गैसक्नु भएको रहेछ । भान्सामा बिरामी बुबा र आमा भलाकुसारी गर्दै गरेको सुने । बुबालाइ राती गाह्रो भएछ । त्यही कुरा आमालाई सुनाउँदै हुनुहुन्थ्यो । उहाँहरुको कुरालाई वास्तै नगरी आफ्नै काम तर्फ लागे ।

नित्य कर्म सकाएर पिँडीमा आएर बसेको मात्र के थिए स्वास्थ बीमा गर्न पाए पनि हुने नि, केही राहत त हुने थियो भन्दै आमा बुबाले गरेको कुराकानी कानमा पर्यो ।

राती बुबा सुत्नै सक्नु भएन छ । रोगले च्याप्न थालेको धेरै भईसक्यो । बुबाको पिँडुलामा मासु पोको परेको छ । महिनै पिच्छे डाक्टरलाई भेट्नु पर्छ । औषधिले ठिक नभए अप्रेसन गर्ने सल्लाह दिएका छन् । डक्टरलाई नभेटेको महिनौ वितिसकेको हुनाले बुबा जानुपर्ने कुरा गर्दा आमाले पैसा अभावको कुरा गर्दै बीमाको कुरा गर्नु भएको रहेछ ।

आमा महिला स्वास्थ्य स्वयंसेविका भएर होला सरकारी स्वास्थ्य कार्यक्रमको बारेमा अलि जानकार हुनुहुुन्छ । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम ओखलढुङ्गामा पनि लागू भएको जानकारी उहाँलाई छ । स्वास्थ्य बीमा गर्नका लागि के गर्नुपर्छ, के-के कागजात चाहिन्छन् भन्ने प्रक्रियागत जानकारी नभएपनि उहाँलाइ सरकारले खटाएको प्रतिनिधिको सहयोग लिनुपर्छ भन्ने सम्म जानकारी थियो । तर, सरकारले खटाएको प्रतिनिधिलाई भेट्न नसक्दा आमाले स्वास्थ बीमा कार्यक्रममा सहभागी हुन चाहेर पनि सक्नुभएको रहेनछ ।

मेरो घरमा स्वास्थ बीमाका सन्दर्भमा बुबा र आमाबीच छलफल भएको केही दिनपछि सुन्दरी काकी हस्याङ फस्यााङ गर्दै आइन् । श्रीमानलाई औषधि खर्च गर्नका लागि पैसा छैन् के गर्ने भन्दै आमासंग भक्कानिन थालिन् । सुन्दरी काकीका श्रीमान एकाएक बिरामी परेर थलिएको महिनौ वितिसकेको छ । दैनिक जीवन यापन समेत कष्टकर रहेको काकीको घरमा अर्को भिमकाय बोझ आई लाग्यो । सदरमुकाममा श्रीमानलाई ठिक नहुने भए पछि उनी कयौँ पटक उपचारको लागि काठमाडौँ पुगरे रहिछन् । रित्तो गोजी, नयाँ शहर, ठुलो अस्पताल, बिराना मान्छे । गाउँबाट सर सापट गरेर ल्याएको पैसाले थेग्ने सम्म श्रीमानको उपचार गराइन् । आफुसंग भएको पैसाले रोग त पत्ता लाग्यो । अब उपचार के ले गर्ने ? यस्तो अनुत्तरित प्रश्न सहित विर अस्पतालको गेटबाट श्रीमानलाई डो¥याउदै पत्थरीको अप्रेशन योजना बुन्दै गाँउ फर्किइन् ।

कोरोना भाइरसका कारण विश्व नै लकडाउनमा थियो । नेपालमा पनि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लकडाउन थियो । सोहीे समयमा नियमित भन्दा धेरै खर्च गरी काकाको उपचारका लागि पुनः काठमाडौँ पुगिन । श्रीमानको उपचारका लागि भएको जाय जेथा समेत बिक्री गरेर पुरानो ऋण तिरेकी काकीले बचेको रकमबाट दोस्रो चरणको उपचारका लागि काठमाडौ पुनः छिरेकी रहिछन् । पन्ध–पन्ध्र दिनमा काकाले डक्टरलाई भेट्नु पर्छ । रोगसँग लड्नका लागि पोषिलो आहारा खुवाउँनुपर्छ । सामान्य दैनिकी गुजारा गर्न धौ-धौ पर्ने उनको परिवारलाई पोषिलो आहारको के वास्ता ।

समयमा खाना खान नपाएर होला बिरामी काका झन झन रोगसँग हार खाएको अनुभती हुन्छ । परिवारको अवस्था देखेर पनि होला आफ्नो दुखाई अरुलाई देखाउन चाहदैनन् उनी । आफ्नो उपचारका लागि पुख्र्यौलि जमिन समेत बिक्री गर्नु प¥यो । बचेपछिको जीवन झनै समस्यापूर्ण हुने चिन्तामा काका देखिन्छन् । सरकारको सहयोगमा उपचार गर्न सकिन्छ भन्ने जानकारी यी काकीलाई पनि भएको भए त्यो सम्पत्तीको नाममा रहेको एक टुक्रा जमिन समेत बिक्री गर्नु पर्ने अवस्था आउँदैनथ्यो । पैसा कै अभावले उपचार गर्न नसकेको यो परिवारलाई सकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा वर्षको थोरै पैसा तिरेर उपचार खर्च पाईन्छ भन्ने कुरा के थाहा ? थाहा पाए पनि के गर्नु ? प्रतिनिधि नै छैनन् ।

यी उदाहरण मात्रै हो । मेरो वडाका अरु परिवार पनि सरकारले सुरु गरेको स्वस्थ बीमा कार्यक्रममा सहभागी हुन सकेका छैनन् । गाउँमा अलि पढे लेखेका व्यक्तिहरु पनि सरकारी स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिर छन् । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम प्रति धेर थोर जानकारी पाएकाहरुले पनि स्वास्थ्य बीमा कार्यक्रममा सरिक हुन पाएका छैनन् ।

ओखलढुङ्गा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको ४९ औँ जिल्ला हो । २०७६/६/६ गते दर्ता कार्यक्रम सुरु गरिएको थियो । २०७६/८/१ देखि सेवा सुरु गरिएको थियो । ओखलढुङगा जिल्लाको मानेभङज्याङ गाउँपालिकाका अन्य वडाका घर परिवार स्वास्थ्य बीमाको दायरामा आएका छन् । सबैतिर स्वास्थ्य बीमाको पहुँच पुगेको छ । तर, मेरो वडालाई मात्रै स्वास्थ्य बीमा कार्यक्रमले समेटेको छैन ।

यति थाहा पाइसकेपछि म घर रहँदा कयौँ पटक स्वास्थ्य बीमाका लागि भनेर वडा कार्यालय धाएँ, तर केही जानकारी पाइन् । वडा अध्यक्ष काम भईरहेको कुरा सुनाउँछन् । दर्ता सहयोगी सम्पर्कमा छैनन् । त्यसैले भन्न मन लाग्छ मेरो सानो गाउँलाई स्वास्थ्य बीमाले छोएको छैन । बीमा गर्छु भन्दा पनि दर्ता सहयोगीको छैन । खै किन छोएन सरकारको तपाईको स्वास्थ्य हाम्रो अठोट’ को नाराले ?

सरकारले गत २०७२ चैत २५ गतेदेखि स्वास्थ्य बीमाको कार्यक्रम लागू गरेको हो । कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ६२ जिल्लामा पुगिसकेको छ । मेरो जिल्ला ओखलढुंगामा पनि यो कार्यक्रम लागू भएको एक वर्ष भन्दा धेरै भैसकेको छ ।

https://notebazar.com/news/2021-01-09-1

चुक्ता पुँजीका आधारमा नेपाल लाइफ र आईजीआई प्रुडेन्सियल बने ठूला कम्पनी

  क्लिकमान्डु प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १५:०९ काठमाडौं । नेपाली बीमा बजारमा नेपाल लाइफ इन्स्यारेन्स र आईजीआई प्रुडेन्सियल इन्स...