Sunday, July 25, 2021

कृषि तथा पशु बीमा प्रिमियम शुल्कमा सरकारले दिने अनुदान घट्यो, कृषकले ५०% तिर्नुपर्ने

 -विजया बाँस्कोटा।
 काठमाडौं।
 ४श्रावण, २०७८, सोमबार /

सरकारले कृषि तथा पशुपन्छी बीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा दिँदै आएको अनुदान रकम घटाएको छ । ५ वर्षदेखि कृषि तथा पशुपन्छी बीमामा लाग्ने प्रिमियम शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको सरकारले चालु आर्थिक वर्षबाट कटौती गरेको हो ।

सरकारले चालु आवदेखि कृषि तथा पशुपन्छी बीमा गर्दा लाग्ने प्रिमियम रकम २५ प्रतिशत घटाएर ५० प्रतिशतमा झारेको हो । बीमा समितिले सरकारले बजेटमा घोषणा गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा प्रिमियममा ५० प्रतिशत मात्रै शुल्क अनुदान दिन कम्पनीहरुलाई निर्देशन दिएको छ । यस अघि २५ प्रतिशत प्रिमियम तिर्दै आएका कृषकले अब भने ५० प्रतिशत प्रिमियम आफैले तिर्नु पर्ने भएको हो ।

समितिले प्रत्येक कम्पनीहरुलाई पत्र लेख्दै नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा उल्लेख भए बमोजिम खाद्य भण्डारण गृह, बाली तथा पशुपन्छी बीमाको प्रिमियममा ५० प्रतिशत मात्रै अनुदानको व्यवस्था गर्न निर्देशन दिएको हो ।

सरकारले बजेटमा व्यवस्था गरे बमोजिमको अनुदान रकम दिन इजाजतपत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीलाई पत्र पठाएको समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए ।

व्यवसायमा असर पार्दैन्, कृषकलाई बानी पार्नु पर्छ

सरकारले कृषि तथा पशुपन्छी बीमा प्रिमियम शुल्क अनुदान रकम कटौती गरे पनि व्यवसायमा खासै असर नपार्ने बीमा समितिको भनाई छ । समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेलले सरकारले कृषि तथा पशु बीमा प्रिमियम शुल्कमा दिईदै आएको अनुदान रकम एकै पटक धेरै कटौती गरे पनि व्यवसायमा असर नपार्ने बताए । सरकारले सधै भरि अनुदान रकम दिन सम्भव नहुँने बताउँदै उनले कृषकलाई बानी समेत पार्नु पर्ने बताए ।

“सरकारको यस्तो निर्णयले व्यवसाय घट्छ जस्तो लाग्दैन, सधै सरकारले अनुदान दिएर पनि त सम्भव हुँदैन, बीमाको प्रिमियम तिरेपछि सुरक्षण हुने भएकाले कृषकलाई बीमाको महत्व बोध गराउनु पर्छ” उनले भने । “सरकारले अनुदान त दिनु पर्छ, तर सधै ७५ प्रतिशत नै दिन्छ भनेर बस्नु भएन ।” उनले बताए ।
कृषि बीमाको दायरामा असर पारे पनि पशु बीमाको व्यवसायमा कुनै फरक नपर्ने उनले बताए । कृषि बीमाको दायरामा भने असर पार्न सक्ने उनको अनुमान छ।

स्थानिय निकायले पनि अनुदान दिनु पर्ने उनको बुझाई छ । स्थानिय निकायसँग समन्वय गर्न सके कृषि तथा पशु बीमाको दायरा बढ्ने उनको भनाई छ ।
कृषि बीमाको अवधारणा ल्याईएको ५ वर्ष वित्दा पनि अझै कृषकमा पशु तथा कृषि बीमाको बारेमा थाहा छैन । देशका दुर्गम ठाउँमा मात्रै हैन राजधानी कै कतिपय कृषकमा समेत पशु तथा कृषि बीमाको पहुँच पुग्न सकेको छैन् । तर, क्रमशः दायरा बढ्दै गएको समितिले बताउँदै आएको छ ।

लक्ष्य अनुसार दायरा विस्तार हुन नसकेको समिति आफै स्वीकार गर्छ । प्रचार प्रसारमा कमी, जनचेतनाको कमी, कहाँ गएर बीमा गर्नु पर्छ भन्ने कृषकमा ज्ञानको अभावको कारण कृषि तथा पशु बीमाले लय लिन नसकेको समितिको भनाई छ । “लक्ष्य अनुसार जति जनसंख्यालाई ल्याईनु पर्ने हो त्यत्ति ल्याउनु सकिएन होला, प्रचार प्रसार कम भयो होला, मान्छेलाई बीमा कहाँ गएर गर्नु पर्छ, कसरी, को मार्फत गर्नु पर्छ भन्ने ज्ञान भएन होला” उनले भने । क्रमशः मानिसमा पशु तथा कृषि बीमाको महत्व बढ्दै गएको कार्यकारी निर्देशक पौडेलले बताए ।

नेपालमा बीमा समितिबाट वि.सं. २०६९ माघ १ गते देखि औपचारिक रुपमा बाली तथा पशुुपन्छी बीमा निर्देशिका, २०६९ जारी भई “बाली तथा पशुपंन्छी बीमा” को शुरुवात भएको हो । वि.सं. २०७० साउन १ गतेदेखि नेपाल सरकारले बाली तथा पशुपन्क्षी बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले २०७१ साउन १ गते बीमा शुल्कको ७५ प्रतिशत रकम नेपाल सरकारले अनुदान दिँदै आएको थियो । समितिले “बाली तथा पशुपंक्षी बीमा” गर्नका बीमा कम्पनी, जिल्ला, सम्पर्क व्यक्तिहरुको नाम र सम्पर्क नम्बर समेत तोकेको छ ।

चालु आवमा एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याउने लक्ष्य पुरा होला ?

-विजया बाँस्कोटा।  काठमाडौं ।

एक आर्थिक वर्षमा बीमाको पहुँच २ प्रतिशतले मात्र बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बीमाको पहुँच २.१५ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा बीमाको पहुँच २२.६१ प्रतिशत रहेकोमा गत आवमा २४.७६ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ ।

बीमा समितिको तथ्यांक अनुसार गत आवमा बैदेशिक रोजगार (म्यादी बीमा) बाहेक २४.७६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो । समितिका अनुसार वैदेशिक रोजगार बीमालाई समेट्दा भने २७ प्रतिशत जनसंख्या बीमाको पहुँचमा समेटिएका छन् ।

समितिले गत आवमा पनि लिएको लक्ष्य अनुसार बीमाको पहुँच विस्तार गर्न सकेको छैन् । गत आवमा कुल जनसंख्याको ३० प्रतिशत जनतामा बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिए पनि समिति असफल भएको हो।

कोरोना कहरले असहजता

समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेलले गत आवमा सोचे अनुरुप बीमाको पहुँच विस्तार हुन नसकेको बताए । “करीब ३० प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार गर्ने लक्ष्य थियो, वैदेशिक रोजगार बीमा बाहेक पनि २७ प्रतिशत भन्दा बढी जनसंख्यामा बीमाको पहुँच विस्तार हुने अनुमान थियो” उनले भने ।

देशमा व्याप्त कोरोना भाइरसका कारण जारी गरिएको निषेधाज्ञाका कारण बीमाको पहुँच बढ्न नसकेको उनले बताए । गत आवमा लक्ष्य अनुसार बीमाको पहुँच विस्तार नहुनुमा कोरोना महामारीले ल्याएको असहजता नै मूख्य कारण रहेको समितिको भनाई छ ।

“जीवन बीमामा अलिकति समस्या छ, घर घरमा जानु पर्ने, बीमा गर्न पनि कर गर्नु पर्ने” उनले भने । कोरोना महामारीका कारणले गर्दा स्थानिय निकायमा जान नसकिएको कारणले गर्दा गत आवमा लक्ष्य बमोमिज पहुँच विस्तार नभएको उनको राय छ । तर, पनि विषम परिस्थितिका बीचमा पनि दुई प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार हुनुमा सन्तोषजनक मान्नु पर्ने उनले दाबी गरे।

“जे सोचेका थियौँ, अलिकति पछाडि नै छौँ, कारोनाका कारण मान्छेहरुलाई खाना गाह्रो छ, लाउन गाह्रो भईरहेको अवस्था छ, बीमा गर्न त अलि परै होला” उनले बताए ।

“बीमा भनेको जोखिम कभर गर्ने हो, गाँउ/ठाउँमा छरिएर रहेको पैसालाई संकलन गरेर त्यसलाई फण्डको रुपमा म्यानेज गरेर जीवन बीमा संचालन गर्ने हो” उनले भने । उनी भन्छन् “बीमाले बीमितलाई सुरक्षित बनाउने हो र राज्यको ठाउँमा लगानी गर्ने हो” ।

चालु आर्थिक वर्षमा एक तिहाई जनसंख्यामा बीमाको पहुँच पु¥याउने लक्ष्य

सरकारले चालु आर्थिक वर्षमा न्यूनतम एक तिहाई जनसंख्यामा बीमाको पहुँच पु¥याउने लक्ष्य लिएको छ । सरकारले लक्ष्य अनुरुप एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुग्ने अडान समितिको छ । सरकारले लिएको लक्ष्य भेट्नका लागि काम शुरु गरिसकेको उनले जानकारी गराए । “कोरोना अझै बढ्दै गयो भने सरकारले लिएको लक्ष्यमा पुग्न नसकिएला तर सरकारले लिएको लक्ष्य भेट्नका लागि काम शुरु गरिसकेका छौँ”उनले भने ।

“बीमा कम्पनीका शाखा देशका विभिन्न जिल्लाका सदरमुकाममा पुगेका छन्, गाउँ गाउँमा पुगेका छन्, कम्पनी मात्रै नभई अभिकर्ता पनि गाउँ गाउँमा पुगेका छन्” उनले भने ।

“बैंकहरुलाई राष्ट्र बैंकले सातै प्रदेशका ७५३ वटै स्थानीय निकायमा बैंकको शाखा खोल्न जसरी निर्देशन दिएको छ हामीले पनि हाम्रा बीमा कम्पनीहरुलाई मुख्य मुख्य ठाउँमा जान भन्छौ” उनले भने ।

समितिले बीमा पहुँच विस्तारका लागि स्थानिय निकायमा गएर बीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको समेत उनले बताए । समितिले पछिल्लो समयमा महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा गएर बीमा साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । यस्तै, काभे्रको पाँचखालमा पनि केही कार्यक्रमहरु पुगेको समितिको भनाई छ ।

हुन त समितिले यस अघिका वर्षहरुमा पनि यस्ता खालका कार्यक्रम भने नगरेको होईन । पहिले पनि समितिले स्थानिय निकायसँग बीमा समिति नामक कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो । त्यस्ता खालका कार्यक्रमबाट राम्रो रेस्पोन्स आएका कारण समितिले पुनः सोही खाले कार्यक्रमहरुमार्फत बीमा सचेतना अभिवृद्धि गर्न लागेको हो ।

समितिले यस अघि डोल्पा जिल्लाको दुनुदेखि सोलुखुम्बु जिल्लाका विभिन्न स्थानीय निकायमा समेत बीमा साक्षरताका कार्यक्रम विस्तार गरेको उनले जानकारी दिए । स्थानिय निकायसँगको समन्वयनमा गरेका त्यस्ता कार्यक्रमले राम्रो रेस्पोन्स आए पछि फेरि पनि स्थानिय निकायसँग जोडिएर जाने योजना समितिको छ । “पहिले पनि स्थानीय निकायसँग समन्वय गरेर कार्यक्रम चलाउँदा राम्रो प्रतिक्रिया आएको थियो, अबका दिनमा पनि स्थानिय निकायसँगै नै जोडिएर जान्छौ”,उनले भने ।

पोलिसी सरेण्डर गर्ने बढे

कोरोना भाइरसका कारण बीमा पोलिसी सरेण्डर गर्ने बीमितको संख्या बढेको समितिले बताएको छ । समितिका अनुसार गत आवमा ९ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित भएका छन् ।

कोरोना महामारीका कारणले बीमा क्षेत्रमा सरेण्डर गर्नेको संख्या बढेको उनले बताए । “कोरोना छ, औषधी, उपचार गर्नु पर्ने छ यस्तो अवस्थामा सरेण्डर निम्त्याउँछ, सरेण्डर गर्दा पैसा पाईन्छ भन्ने बीमितलाई थाहा छ, जसको कारण पोेलिसी सरेण्डर गर्नेको संख्या बढेको छ ।” उनले भने ।

Friday, April 9, 2021

कहिले हट्ला बीमा क्षेत्रमा कागजी प्रक्रिया ?


 -विजया बाँस्कोटा।
 काठमाडौं।
 १९चैत्र, २०७७, बिहीबार / Apr 01, 2021 18:41:pm

२१ औँ शताब्दी प्रविधिको युग हो । संसारको जुनसुकै कुनामा भईरहेका घट्ना सम्बन्धी जानकारी तथा सूचना प्रविधि कै माध्यमबाट हेर्न र सुन्न सकिन्छ। विकसीत मुलुकको तुलनामा विकासोन्मुख मुलुक प्रविधिको पहुँचमा पछि रहेपनि प्रविधि मैत्री बन्ने प्रयासमा देखिन्छन् । विकासोन्मूख देशले पनि प्रविधिलाई आत्मसाथ गर्र्दै अगाडि बढेका छन् ।

पछिल्लो समय नेपालले पनि प्रविधिमा ठुलो फड्को मारेको छ । प्रविधिको प्रयोगबाटै दैनिक जीवनमा हुने स–साना कामदेखि लिएर ठुला काम समेत फत्ते गर्न सक्ने अभ्यास नेपालले पनि सुरुवात गरेको छ । प्रविधिको प्रयोग गरेर भान्छा घरमा प्रयोग गरिने सामान खरिद गर्नेदेखि लिएर रेस्टुरेन्टमा खाएको बिल तिर्ने, इन्धनको मूल्य तिर्ने लगायतका काम मोबाइलबाटै भुक्तानी गर्ने अभ्यासको सुरुवात भएको छ ।

मोबाइलको माध्यमबाट बैंक खाता, डिम्याट खाता खोल्न सक्ने अभ्यास आजकल नेपालमा पनि छ । डिजिटल कारोबार मानिसहरुको पहिलो प्राथमिकता जस्तै भएको छ । विद्यालय, सरकारी संस्था, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था सबै कागजी कामकाजलाई विस्थापित गर्दै प्रविधितर्फ मोडिएका छन्

अधिकांस आर्थिक कारोबार प्रविधिबाटै गर्न सम्भव भए पनि बीमा क्षेत्र भने कागजी प्रक्रियामै छ । केही कम्पनी बाहेक अझै पनि बीमा पोलिसी खरिद वा दाबी गर्न बीमित सम्बन्धित कम्पनीमा नै पुग्नु पर्छ । लामो समयदेखि नेपालमा बीमा व्यवसाय सञ्चालन हुँदै आए पनि अझै बीमा सेवाको प्रणाली भने कागजी प्रक्रिया मै अल्झिएको छ । हाल नेपालमा २० निर्जीवन, १९ जीवन र एक पुनर्बीमा गरी कुल ४० वटा कम्पनीले बीमा व्यवसाय गर्दै आएका छन् ।

अन्तराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने अनलाइनको माध्यमबाट नै बीमा कम्पनीको पोलिसी खरिद गर्न सकिन्छ । अनलाइनबाटै पोलिसी खरिद गरि आफ्नो बीमालेख नविकरण तथा दाबी समेत गर्न सकिन्छ । छिमेकी मुलुक भारतमा समेत प्रविधिको प्रयोगबाट एकै क्लिकमा बीमा पोलिसी खरिद गर्न, आफ्नो बीमा नविकरण गर्न र दाबी भुक्तानी गर्न सक्ने अभ्यास छ । भारतमा २५ जीवन र ३४ निर्जीवन गरी कुल ५९ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । जसमध्ये पोलिसी बजार डटकम नामक अनलाइनमार्फत अधिकांश कम्पनीको बीमा पोलिसी खरिद गर्न, बीमा नविकरण गर्न तथा बीमा दाबी गर्न सक्ने व्यवस्था छ ।

भारतमा उक्त वेभसाइटमार्फत सबै बीमा कम्पनीमा भएका पोलिसीका प्रकार, बीमा अवधि तथा बीमाशुल्क लगायतका सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ ।

नेपालमा पनि केही कम्पनीले आफ्नो वेभसाइटमार्फत नै पोलिसि खरिद गर्न सक्ने व्यवस्था ल्याएका छन् । केही निर्जीवन तथा केही जीवन बीमा कम्पनीले आफ्नो आधिकारीक वेबसाइटबाट नै पोलिसी खरिद गर्न सक्ने व्यवस्था गरेका छन् । निर्जीवन बीमातर्फ सगरमाथा इन्स्योरेन्सको बीमा सेवा कम्पनीको वेबसाइटमार्फत नै खरिद गर्न सकिन्छ । कम्पनीको वेबसाइटबाट बीमा पोलिसी खरिद गर्न सकिने भएता पनि बीमा दाबीको सुविधा लिनका लागि भने केही झन्झट छ । दाबीको कागजात धेरै हुने भएकाले भौतिक रुपमा कार्यालयमा उपस्थिती हुनु पर्ने अवस्था रहेको बीमकहरु बताउँछन् ।

यता, जीवन बीमातर्फ प्राइम लाइफ इन्स्योरेन्सले पनि आफ्नै वेबसाइटबाट बीमा सेवा दिने अभ्यास थालेको करिब एक वर्ष भयो । बीमा क्षेत्रमा डिजिटल माध्यमको आवश्यकता महशुस गर्दै कम्पनीले अनलाइनबाटै पोलिसी खरिद गर्ने अवधारणा ल्याएको थियो । बीमा पोलिसी खरिद गरेपछि कम्पनी कै साइटबाट दाबी पनि गर्नसकिने व्यवस्था गरेको छ ।

नेपालमा पनि च्याटबाट बीमा कम्पनीका बीमा योजनाका बारेमा जानकारी लिन सकिने अभ्यासको विकास भएता पनि व्यक्ति आफैले बीमा पोलिसी खरिद गर्ने र बीमा दाबी गर्न सक्ने प्रविधि भने सृजना हुन बाँकी छ ।

पछिल्लो समय केही कम्पनीहरुले अनलाइनबाटै बीमा सेवा प्रदान गर्दै आए पनि यसको प्रभावकारिता कम रहेको प्राइम लाइफका डेपुटी प्रमूख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । “ बीमा कम्पनीले प्रविधिमा अधारीत सेवा ल्याए पनि उक्त सेवाबाट पोलिसी खरिद गर्नेको संख्या भने न्यून छ,” उनले भने, “विदेशी मुलुकमा बस्नेहरुले भने अनलाइनमार्फत पोलिसी लिन ट्राई गरेको देखिन्छ ।”

बीमा समितिमा डिजिटल हस्ताक्षरलाई मान्यता दिनका लागि कुरा भईरहेको बताउदै उनले भने,“डिजिटल सिग्नेचरलाई उहाँहरुले भ्यालिड भनेर दिनु भयो भने अनलाइन सेवामा अलि सहजता आउँछ ।” अहिलेको युगमा अनलाइन सर्भिस नगरे अनिवार्य जस्तै भैसकेको उनको बुझाई छ । निर्जीवनमा भन्दा पनि जीवनमा अनलाइन सेवा सहज हुने उनी बताउँछन ।


प्रविधि मैत्री बीमा सेवाका लागि के गरिरहेको छ बीमा समिति ?

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल अरु क्षेत्रमा जस्तो बीमा क्षेत्रमा पनि कागजी प्रक्रिया अन्त्य हुनुपर्ने बताउँछन् । बीमा क्षेलाई प्रविधि मैत्री बनाउनका लागि आफुहरुले बल्ल सफ्टवेयरको निमार्ण गरिरहेको बताउँदै उनले भने,“बीमा क्षेत्रका सबै कामलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा जानका लागि केही समय कुर्नु पर्ने देखिन्छ ।”

बीमा व्यवसाय पूर्ण रुपमा अभिकर्तामा भर पर्नु भन्दा पनि अनलाइन सेवातर्फ मोडिदा बीमा व्यवसाय वृद्धि हुने अध्यक्ष सिलवाल बताउँछन । बीमा सेवालाई पूर्ण रुपमा अनलाइन बनाउनका लागि पहिले समिति बलियो हुने त्यसपछि मात्रै बीमा कम्पनीहरुलाई अनलाइन सेवाका लागि तयार रहनका लागि पहल गर्ने तयारी उनकोे छ ।

घरायसि प्रयोजनका लागि चाहिने सामान अनलाइनबाट खरिद गर्न सके जस्तै बीमा सेवा पनि अनलाइन बाटै लिन सकिने अभ्यासको सुरुवात गर्ने उनी बताउँछन् । “अन्तराष्ट्रिय रुपमा प्रयोगमा आएको यस्तो सेवाका बारेमा केही कुराहरु भएका छन्, काम गर्ने कम्पनीले हो, समितिले हैन, यस बारेमा एक पटक कम्पनीहरुसँग बसेर कुरा गर्न बाँकी छ,” उनले भने । कागजी प्रक्रियामा निर्भर नभई बीमा सम्बन्धी सबै काम अनलाइनको माध्यमबाट गर्न कम्पनीहरु इच्छुक भए नियमनकारी निकाय बीमा समितिले साथ दिने सिलवालको भनाई छ ।

नेपालमा बीमालाई सहजै स्वीकार गर्नेको संख्या न्यून छ । अर्थात आज पनि नेपालमा बीमा स्वेच्छिक भन्दा पनि कसैले भनेको भरमा, आफन्तको चित्त बुझाउनका लागि गरिने चलन छ । यस्तो अवस्थामा कम्पनीहरुले दिँदै आएको अनलाइन सर्भिस प्रभावकारी देखिदैन् ।

नेपालमा बीमा व्यवसाय गर्ने ४० वटा कम्पनीमध्ये केही कम्पनीले मात्रै अनलाइन सर्भिसको अवधारणा ल्याएका छन् । तरपनि कम्पनीले ल्याएका त्यस्तो सेवा प्रभावकारी हुनका लागि स्वेच्छिक बीमा गर्ने वातावरणको विकास हुनु पर्ने देखिन्छ । समग्र बीमा बजारमा कागजी प्रक्रियाको चलन कहिले अन्त्य हुने हो त्यो भने हेर्न बाँकी छ ।

https://notebazar.com/news/2021-04-01-26

नोट बजारडटकममा प्रकाशित

Monday, March 29, 2021

स्वास्थ्य बीमा कार्यक्रम अब ७७ जिल्लामै पुग्दै, चैत २५ गते थप ६ जिल्लामा शुभारम्भ हुने

✍️ नोटबजार संवाददाता।
 काठमाण्डौं।
 १६चैत्र, २०७७, सोमबार / Mar 29, 2021 16:57:pm



सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । वि.सं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।

यही चैत २५ गते ६ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव लम्सालले जानकारी दिए । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा लागू गर्न थालिएको हो ।

बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले ७०० रुपैयाँ बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले गराए रु एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन् ।

बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए । “अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौँ”, उनले भने, “त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाई सबैलाई आबद्ध गर्दछाँै ।”

अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । उनले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइनेसमेत जानकारी दिए । अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् । तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् ।

सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा लम्सालले जानकारी दिए । बोर्डले अहिले बीमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेको जस्तो नागरिक सहभागी नभएको बताए ।

उनले स्वास्थ्य बीमा गरेका तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने बताए । “गरीब विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन”, उनले भने, “त्यस्ता गरीब, विपन्न वर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पु¥याउँछ ।”

बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवाली मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बीमामा आकर्षण कम भएको बताए । “बिरामी हुँदा मानिसहरु एक लाखभन्दा पनि बढी तिर्छन्”, उनले भने, “तर बीमा गर्नका लागि तीन हजार ५०० शुल्क पनि तिर्न मानिरहेका छैनन् ।”

उनले वार्डस्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने बताए । सरकारले पोलिएको, गम्भीर अपाङ्गताका लागि गरिने उपचार, ओँठ तालु काटिएकामा गरिने सर्जरीबाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी भने बीमाबापत गराउने पाउने छै्रनन् । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम शुरु गरेको थियो ।

https://notebazar.com/news/2021-03-29-28

✍️ विजया बाँस्कोटा
 काठमाण्डौं।
 १४चैत्र, २०७७, शनिबार / Mar 27, 2021 13:10:pm



कोभिड-१९ संक्रमणका बीच पनि नेपालमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना अवधिमा एक खर्ब माथि बीमा व्यवसाय गरेका छन् । सञ्चालित १९ जीवनबीमा र १९ निर्जीवन बीमा कम्पनीहरुले सो बराबरको व्यवसाय गरेका हुन् । राष्ट्रिय बीमा कम्पनीको भने तथ्याङ्क सार्वजनिक भएको छैन ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आव २०७८/७८ को फागुन मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीले कुल १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । गत आव २०७६/७७ आवको आठ महिना अवधिमा जीवन तथा निर्जीवन गरी कुल ७८ अर्ब १० करोड रुपैयाँ बराबरको व्यवसाय भएको थियो । समीक्षा अवधिमा समग्र बीमा व्यवसायमा ३१.११ प्रतिशतको वृद्धि देखिएको छ ।

चालु आवको फागनु मसान्तसम्ममा अवधिमा जीवन बीमातर्फ ८२ अर्ब २० करोड र निर्जीवन बीमा व्यवसायतर्फ २० अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको हो । गत आव २०७६/७७ आवको आठ महिना अवधिमा जीवन बीमातर्फ ६० अर्ब २२ करोड र निर्जीवन बीमा व्यवसायतर्फ १७ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको समितिको तथ्याङ्क छ ।

समीक्षा अवधिमा जीवन बीमा व्यवसायतर्फ ३६.५० प्रतिशत र निर्जीवन बीमा व्यवसायतर्फ १२.९८ प्रतिशतले व्यवसाय बढोत्तरी भएको छ ।
चालु आवको ८ महिना अवधिमा जीवनबीमाकम्पनीहरुले २८ अर्ब ९ करोड रुपैयाँप्रथमबीमा शुल्क, ५३ अर्ब ७९ करोड रुपैयाँ नवीकरण बीमाशुल्क र ३२ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क गरी कुल ८२ अर्ब २० करोड रुपैयाँ संकलन गरेका हुन् ।

गत आवको ८ महिनासँग तुलना गर्दा यस अवधिमा सबै (१९ वटै) जीवन बीमाकम्पनीहरुले बीमा शुल्क संकलन बढाएका छन् भने निर्जीवन बीमा व्यवसायतर्फ २० मध्ये १६ कम्पनीको व्यवसाय बढेको छ । हिमालयन जनरल, ओरियन्टल र नेशनल इन्स्योरेन्सको बीमा शुल्क संकलन घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क सार्वजनिक भएको छैन ।

जीवन बीमा व्यवसायतर्फ फागुनसम्म नेपाल लाइफले सबैभन्दा धेरै २२ अर्ब ६७ करोड (जीवन बीमा व्यवसायको २७.५८ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेको छ । महालक्ष्मी लाइफले सबैभन्दाकम ६८ करोड (जीवन बीमा व्यवसायको ०.८३ प्रतिशत) बीमाशुल्क उठाएको छ ।

निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब ६८ करोड (निर्जीवन बीमा व्यवसायको १३.२७ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम ३९ करोड रुपैयाँ (निर्जीवन बीमा व्यवसायको १.९३ प्रतिशत) बीमाशुलल्क उठाएको छ । समीक्षा अवधिमा हिमालयन जनरलको २३, ओरिन्टल इन्स्योरेन्सको ४ र नेशनल इन्स्योरेन्सको साढे ३ प्रतिशत धेरैले बीमाशुल्क संकलन घटेको हो ।

लाइफ इन्स्योरेन्सतर्फ सानिमा लाइफको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ । कम्पनीले गतआवको ८ महिनामा ४१ करोड रुपैयाँमात्रै बीमाशुल्क उठाएकोमा २०७.३२ प्रतिशतले बढाउँदै चालु आवको फागुनमसान्तसम्ममा १ अर्ब २६ करोड संकलन गरेको छ ।

निर्जीवन बीमा व्यवसायतर्फ अजोड इन्स्योरेन्सको व्यवसाय वृद्धि उच्च देखिएको छ । गत आवको ८ महिनामा ५६ करोड रुपैयाँ मात्रै बीमाशुल्क उठाएकोमा ५८.९३ प्रतिशतले बढाउँदै चालु आवको फागुन मसान्तसम्ममा ८९ करोड संकलन गरेको छ ।

 

बीमा समितका कार्यकारी निर्देशक राजु रमण पौडेलले बीमा व्यवसायको आकार हरेक वर्ष झै अहिले पनि बढ्दै गइरहेको बताए । कोभिड-१९ को कारण केही पछि परेपनि कोभिडको महामारी घट्दै गएपछि व्यवसाय विस्तारमा कम्पनीहरु एग्रेशिभ रुपमा अघि बढेकाले व्यवसायमा कमी नआएको उनले बताए । जीवन बीमा कम्पनीमा अभिकर्ता पुग्न थाल्नु तथा निर्जीवन बीमा कम्पनीले मार्केटिङ्गलाई टाग्रेट दिनु बीमा व्यवसाय बढ्नु अर्को कारण रहेको उनको बुझाई छ ।

बजारमा नयाँ कम्पनी आउनु, कम्पनीमा दक्ष जनशक्तिको अभाव घट्दै जानु बजार बढ्नुको कारण रहेको उनको दाबी छ । अघिल्ला वर्षहरुको तुलनामा बीमा व्यवसायको वृद्धिदर सन्तोषजनक रहेको उनको भनाई छ । आर्थिक वर्षको अन्तिम अन्तिम समयमा बीमा व्यवसाय बढ्ने समय रहेको उनले बताए । जीवन बीमा व्यवसायतर्फ व्यवसायको वृद्धिदरलाई मात्रै हेर्नु भन्दा पनि ल्याप्सको दरलाई हेर्नुपर्ने आवश्यक रहेको उनको तर्क छ ।

जीवन बीमातर्फ बीमा शुल्क वृद्धिदर उच्च देखिएको कम्पनी सानिमा लाइफले पछिल्लो समय कम्पनीमा उचित व्यवस्थापन र कर्मचारीको साथले गर्दा व्यवसाय बढेको बताएको छ । कम्पनीका मार्केटिगं प्रमुख गणेश चौलागाईले कम्पनीले प्रमुख कार्यकारी अधिकृत पाउनु, शाखा सञ्जाल विस्तार हुनुलाई व्यवसाय बढ्नुको कारण रहेको बताए ।

कम्पनीले कर्मचारीलाई गर्ने व्यवहार, अभिकर्तालाई हेर्न हेराई, अभिकर्ता लक्षित मोटिभेशन कार्यक्रमले गर्दा व्यवसाय बढाउन सफल भएको चौलागाईको भनाई छ ।

https://notebazar.com/news/2021-03-27-3

 ✍️ नोटबजार संवाददाता।

 काठमाण्डौं। १६चैत्र, २०७७, सोमबार / Mar 29, 2021 13:34:pm


जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको आठ महिनामा २८ अर्ब रुपैयाँ नयाँ बीमा व्यवसाय विस्तार गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले फागुन मसान्तसम्ममा २८ अर्ब ९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये फागुनमा मात्रै ३ अर्ब ३१ करोड रहेको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाएको हो । जसमध्ये फागुन महिनामा मात्रै कम्पनीले ७३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको हो ।

नेपाल लाइफ पछि नेशनल, यूनियन र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले धेरै नयाँ व्यवसाय विस्तार गरेका छन् । यी कम्पनीले क्रमशः दुई अर्ब ६१ करोड, दुई अर्ब ३५ करोड र दुई अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको फागुन महिनासम्ममा ११ बीमा कम्पनीहरुले एक अर्ब भन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

  • एक अर्ब धेरैको नयाँ व्यवसाय गर्ने एघार जीवन बीमा कम्पनी 

चालु आवको फागुन महिनासम्ममा ११ जीवन बीमा कम्पनीले अर्ब भन्दा माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल लाइफ, नेशनल, यूनियन लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल), सूर्या, एशियन, रिलायबल, ज्योति, गुँरास, सिटिजन र रिलायन्स लाइफले अर्ब भन्दा माथिको नयाँ व्यवसाय गरेका हुन् ।

नेपाल लाइफले ६ अर्ब ८ करोड, नेशनलले दुई अर्ब ६१ करोड, यूनियनले दुई अर्ब ३५ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले दुई अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, सूर्याले १ अर्ब ४६ करोड, एशियनले १ अर्ब ४४ करोड रुपैयाँ, रिलायबलले १ अर्ब ४३ करोड रुपैयाँ, ज्योतिले १ अर्ब २१ करोड रुपैयाँ, गुराँसले १ अर्ब २० करोड रुपैयाँ, सिटिजनले १ अर्ब ११ करोड र रिलायन्सले १ अर्ब ५ करोड रुपैयाँ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

  • आठ कम्पनीको एक अर्बभन्दा कम

चालु आवको आठ महिनामा ८ वटा कम्पनीले एक अर्ब भन्दा कम प्रथम बीमाशुल्क संकलन गरेका छन् । अर्ब भन्दा कम प्रथम बीमा शुल्क संकलन गर्ने कम्पनीहरुमा मेट लाइफ, प्राइम, आइएमई, सानिमा, प्रभु, सन नेपाल, राष्ट्रिय बीमा संस्थान र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।

मेट लाइफले ९८ करोड रुपैयाँ, प्राइमले ९५ करोड रुपैयाँ, आइएमईले ८३ करोड रुपैयाँ, सानिमाले ८१ करोड रुपैयाँ, प्रभुले ६२ करोड रुपैयाँ, सन नेपालले ६० करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ५८ करोड रुपैयाँ र महालक्ष्मीले ४७ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाउन सफल भएका छन् ।

  • फागुन महिनामा ३ अर्ब २१ करोड

चालु आवको आठौं महिना अर्थात फागुन महिनामा मात्रै १९ जीवन बीमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

फागुन महिनामा १९ वटै जीवन बीमा कम्पनीले एक अर्ब भन्दा कम प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले ७३ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ । नेशनल लाइफले ३३ करोड, यूनियनले ३२ करोड रुपैयाँको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

  • प्रथम बीमाशुल्क भनेको के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमाशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् । त्यस्तै, थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नवीकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक/फरक हुन्छ ।
https://notebazar.com/news/2021-03-29-15

Monday, March 22, 2021

स्वास्थ्य बीमा गरेका १४ लाखले लिए सेवा, नवीकरण गर्नेको संख्या ७० प्रतिशत

 विजया बाँस्कोटा
 काठमाण्डौं।
 १०चैत्र, २०७७, मंगलवार 

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएर १४ लाख बीमितले उपचार सेवा लिएका छन् । विं.सं २०७२ सालमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट पाँच वर्षमा सो संख्यामा बिमितले सेवा पाएका हुन् ।

स्वास्थ्य बीमा बोर्डको चौमासिक प्रगति विवरण अनुसार चैत्र १ गतेसम्म १४ लाख ३० हजार जना बीमितले उपचार सेवा लिएका हुन् । कुल सहभागीमध्ये ३८.५४ प्रतिशत बीमितले सेवा लिएका हुन् ।

बोर्डको तथ्यांक अनुसार बीमितहरुले सानादेखि ठूला रोगहरुको सेवा लिनका लागि समेत स्वास्थ्य संस्था गएको देखिएको छ । प्राथमिक रक्तचाप, पेट दुखाई, मधुमेह, टाउको दुखाई, घाँटी दुखाई, ज्वरो लगायतका रोगहरुको उपचारका लागि बीमित स्वास्थ्य संस्था पुगेका हुन् । ठूला रोगको तुलनामा साना रोगका कारण स्वास्थ्य संस्था पुग्ने बीमितको संख्या उच्च छ । साधारणको तुलनामा जटिल (शल्यक्रिया) प्रकृतिका रोगमा उपचार गराउनेको संख्या भने न्यून रहेको छ ।

यस अवधिमा ९२ हजार १४ जनाले प्राथमिक रक्तचापको सेवा लिएका छन् । ९८ हजार ५६१ जना जनाले पेट दुखाई, ६० हजार ७३५ जनाले मधुमेह, ३० हजार ७९३ जनाले टाउको दुखाई, २९ हजार ८२२ जनाले घाँटी र ३२ हजार २९ जनाले ज्वरोको सेवा लिएका हुन् ।

चैत्र १ गतेसम्म यस कार्यक्रममा ३७ लाख १० हजार ९६२ जना सहभागी भएका छन् । यस अवधिमा बीमित परिवारको संख्या ७ लाख ४२ हजार १९२ जना रहेको छ ।

  • नवीकरण संख्या घट्दो

बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार स्वास्थ्य बीमामा नविकरण गर्नेको संख्या घटेको देखिन्छ । गत वर्षहरुमा स्वास्थ्य बीमा नविकरण गर्नेको संख्या ७५ प्रतिशत रहँदै आएको यो अवधिमा ७० प्रतिशतमा सीमित भएको छ ।

सबै नेपालीलाई सरकारले ५ वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रम पु¥याउने लक्ष्य सहित विसं २०७२ सालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रमको प्रचार प्रसार प्रर्याप्त नहुनु, कार्यक्रम अन्तर्गत उपचार गर्ने संस्थाको गुणस्तर कमजोर हुनु लगायतका कारणले सोचे अनुसार लक्ष्य भेटाउन नसकिएको स्वास्थ्य बीमा बोर्डका एक कर्मचारीले नोटबजारलाई बताए ।

देशमा कोरोना भाइरस संक्रमण फैलनु यसको मुख्य कारण रहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाको भनाई छ ।

  • ७ अर्ब संकलन, साढे २ अर्ब भुक्तानी

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा सहभागी भएका बीमितबाट करीब ७ अर्ब रुपैयाँ रकम संकलन गरेको छ । चैत्र १ गतेसम्म बीमितबाट ६ अर्ब ९७ करोड ५८ लाख ९३ हजार २७५ रुपैयाँ संकलन गरेको बोर्डको तथ्यांक छ ।

त्यस्तै, बोर्डले यस अवधिसम्ममा २ अर्ब ७६ करोड ७८ लाख ८० हजार रुपैयाँ सेवा प्रदायक संस्थालाई भुक्तानी गरेको छ । यो रकम कुल संकलनको रकमको ३९.६८ प्रतिशत हुन आउँछ ।

  • सेवा गुणस्तरिय नभएको गुनासो

सबै नागरिकलाई सर्वसुलभ स्वस्थ्य सेवा उपलब्ध गराउनका लागि सरकारले न्यूनतम प्रिमियममा नै परिवारको बीमा गर्ने सुरुवात गरेपनि यो कार्यक्रमको सेवाप्रति सेवाग्राही भने सन्तुष्ट हुन सकिरहेको पाइँदैन ।

सरकारले बीमामा सरिक भएका बीमितलाई सेवा दिनका लागि सम्झौता गरेका स्वास्थ्य संस्थाबाट गुणस्तरिय सेवा पाउन नसकेकेको बीमितको गुनासो छ ।

स्वास्थ्य सेवा लिन जाँदा अस्पतालका फामेर्सीमा डाक्टरले सिफारिस गरे बमोजिमको औषधी नपाईने, घण्टौं लाइन बस्नुपर्ने लगायतका समस्या खेप्नु परेको बीमितहरुको गुनासो छ ।

  • लक्षित वर्गमा पहुँच पुग्न बाँकी

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अझै पनि लक्षित वर्गको पहुँचमा पुग्न बाँकी रहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौला बताउँछन् । लक्षित वर्गको स्वास्थ्य बीमाको पहुँच पुर्याउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

स्वास्थ्य बीमा कार्यक्रम ६९ जिल्लाका ६७३ स्थानीय निकायमा विस्तार भएको छ । थप दुई जिल्लामा कार्यक्रम विस्तारको तयारीमा रहेको बोर्डले जानकारी दिएको छ । २०७२ चैत्र महिनादेखि पाइलट प्रोजेक्टका रुपमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अझैपनि ८ जिल्लाका ८० स्थानीय तहमा स्वास्थ्य बीमाको सेवा पुग्न नसकेको देखिन्छ ।

यस बीमा कार्यक्रम अन्तर्गत अति गरिब बीमितको जनसंख्या ४ लाख ५९ हजार ३२६ रहेको छ भने ४ लाख १५ हजार ९९८ ज्येष्ठ नागरिक पनि सहभागि भएका छन् । यसैगरी १२ हजार ७९१ एचआइभी संक्रमित, ५२ हजार ४८५ अति अशक्त अपांग, १ हजार ९१९ जना कुष्ठरोगी, १ हजार ५४७ एमडीआरटी र ४७ हजार २०१ महिला स्वास्थ्य स्वयंसेविका सहभागी भएका छन् ।

  • स्वास्थ्य बीमाको सुविधा कसरी लिने ?

स्वास्थ्य बीमा बोर्डले पाँच जनाको परिवारलाई एउटा युनिट मानेको छ  । यस कार्यक्रम अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँमा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७०० रुपैयाँ थप गर्नुपर्ने हुन्छ  ।

सरकारले स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क बीमाको व्यवस्था गरेको छ  । उपचार सुविधाका लागि बोर्डले विभिन्न स्वास्थ्य चौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ  ।

बीमितले उपचार सेवा उपभोग गर्नका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्य चौकी वा तोकिएको अस्पताल जानुपर्ने हुन्छ  ।

https://notebazar.com/news/2021-03-23-5

अभिकर्ता संघबाट गैरकानुनी रुपमा कमिशन कटौति गरेको भन्दै बीमा समितिमा दोस्रो पटक उजुरी

✍️ विजया बाँस्कोटा
 काठमाण्डौं।
 ९चैत्र, २०७७, सोमबार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध अभिकर्ता सुमित्रा भट्टले आफूले पाउनुपर्ने कमिशन रकम गैरकानुनी रुपमा काटिएको भन्दै नियामक निकाय बीमा समितिमा उजुरी दर्ता गराएकी छिन् ।

आफुले कम्पनीबाट प्राप्त गर्ने कमिशनको रकम गैरकानुनी रुपमा कटौति गरेको भन्दै गत असोज २४ गते भट्टले पहिलो पटक बीमा समितिमा उजुरी दर्ता गरेकी भट्ट दोस्रो पटक फागुन २८ गते समिति पुगेकी हुन् ।

असोजको उजुरी माथि कुनैपनि कारबारही नगरेको भन्दै भट्टले फागुन २८ गते पुनः न्यायका लागि दोस्रो पटक समितिको ढोका ढकढकाएकी हुन् ।  कम्पनीमा क्रियाशिल पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफ र कम्पनी मिलेर गैरकानुनी रुपमा आफ्नो कमिशन रकम कटौति गरेको उनको आरोप छ ।

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफले कम्पनीसँगको मिलोमतोमा अभिकर्ताको कमिशनबाट वार्षिक ५ हजार रुपैयाँ कटौति गरेको भट्टले बताइन् । आफु बीमक समितिको सदस्य समेत नभएको अवस्थामा जानकारी बिना नै बीमक समिति नेपाल लाइफले आफ्नो आम्दानीबाट रकम काटेको अभिकर्ता भट्टको दाबी छ ।

कम्पनीबाट अभिकर्ता कमिशन वापत प्राप्त भएको रकम आफुलाई सोध्दै नसोधी खाताबाट पटक पटक रकम कटौति गरेको उजुरी लिएर नियामक निकाय बीमा समिति पुग्दा पनि संघ उपर बीमा समितिले कुनै कारबाही नगरेको भट्टले बताइन् ।

अभिकर्ताहरुले आफुले पाउनुपर्ने सेवा सुविधाबाट रकम कटौति गरेको उजुरी दर्ता गरेको ५ महिना वितिसक्दा पनि न्याय पाउन नसकिएको गुनासो पीडित अभिकर्ताहरुको छ । बीमा समितिले कारबाहीको प्रक्रिया नबढाएको उनीहरुको आरोप छ ।

  • सदस्यता नलिएका अभिकर्ताबाट समेत रकम असुली

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफले सदस्यता नलिएका अभिकर्ताबाट पनि सदस्य सरह रकम असुली गर्दै आएको उजुरीकर्ता अभिकर्ताहरुले आरोप लगाएका छन् ।

नेपाल लाइफमा देशभरमा ७० हजार अभिकर्ता आबद्ध छन् । श्रम ऐन अनुसार यस्ता समिति वा संघले आफ्ना सदस्य अभिकर्ताबाट लेबी संकलन गर्न पाउने व्यवस्था छ । अभिकर्ताको हक अधिकारका लागि भन्दै गठित भएको संघको सदस्यताको लागि अनिवार्य गरिएको छैन तर, इच्छुक अभिकर्ताले उक्त समितिको सदस्यता लिन पाउने व्यवस्था छ ।

तर, बीमक समिति नेपाल लाइफले भने आफु खुशी सदस्यता नलिएका सदस्यबाट पनि गैर सदस्यहरुबाट समेत रकम असुली गर्दै आएको अभिकर्ता भट्टको आरोप छ । उनका अनुसार समितिले सदस्यता नलिएका अभिकर्ताबाट पनि ५ हजार देखि १५ हजार रुपैयाँसम्म संकलन गर्दै आएको छ । कम्पनीले अभिकर्ताको खातामा कमिशन रकम जम्मा गर्नुअघि अभिकर्तालाई जानकारी नदिई समितिलाई रकम प्रदान गर्ने गरेको पीडित अभिकर्ताको आरोप छ ।

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफले १२ लाख ५० हजार रुपैयाँ बीमाशुल्क बुझाउने अभिकर्ताबाट ५०० रुपैयाँ कट्टी गर्ने गरेको छ । २५ लाख बीमाशुल्क बुझाउनेबाट ७०० रुपैयाँ, ५० लाख रुपैयाँ बुझाउनेबाट ८०० रुपैयाँ, ७५ लाख रुपैयाँ बुझाउनेबाट ९०० रुपैयाँ, १ करोड रुपैयाँ बुझाउनेबाट १ हजार रुपैयाँ, १ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट १ हजार ५०० रुपैयाँ, २ करोड रुपैयाँ बुझाउनेबाट २ हजार रुपैयाँ समितिले काट्ने गरेको ती अभिकर्ताको आरोप छ ।

त्यस्तै, उक्त समितिले २ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट २ हजार ५००रुपैयाँ, ३ करोड रुपैयाँ बुझाउनेबाट ३ हजार रुपैयाँ, ३ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट ३ हजार ५००रुपैयाँ, ४ करोड रुपैयाँ बुझाउनेबाट ४ हजार रुपैयाँ, ५ करोड रुपैयाँ बुझाउनेबाट ५ हजार रुपैयाँ, ७ करोड ५० लाख रुपैयाँ बुझाउनेबाट ७ हजार रुपैयाँ, १० करोड रुपैयाँ बुझाउनेबाट १० हजार रुपैयाँ र १० करोड रुपैयाँ भन्दा बढी बुझाउनेबाट २० हजार रुपैयाँ लिँदै आएको छ ।

  • बुझेर कारबार्ही गर्ने/नगर्ने निर्णय लिन्छुः बीमा समितिका अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले भने यस बारेमा आफू कहाँ अहिलेसम्म कुनै जानकारी आई नपुगेको बताए ।

नोटबजार डटकमसँग को कुराकानीमा यस विषयमा बुझेर कारबार्ही गर्ने/नगर्ने निर्णय लिने उनले बताए । 

अध्यक्ष सिलवालले भनेः “अभिकर्ताले पाउनुपर्ने रकम संघले दिने नभई कम्पनीले दिने हो, संघले कसरी पैसा काट्यो, के भएको रहेछ म बुझ्छु ।”

गत असोजमा सुमित्रा भट्टसँगै धनगढीकी स्नेहा भट्ट, जागुराम चौधरी सुख्खड, राजेन्द्र चौधरी सुख्खड, कालुराम चौधरी धनगढी र रामप्रसाद चौधरी सुख्खडले समेत समितिले गैरकानुनी रुपमा रकम कटौती गरेको भन्दै समितिमा उजुरी दिएका थिए ।

असोजमा उजुरी दर्ता गरेका धनगढीका कालुराम चौधरी लगायत अन्य अभिकर्ताहरुले भने दोस्रो पटक उजुरी दर्ता गराएनन् । आफुहरुले दर्ता गराएको पहिलो उजुरी उपर नै बीमा समितिले केही कारबाही नगरेपछि पुनः उजुरी दर्ता नगरेको चौधरीले बताए ।

आफुले दुःख गरेर कमाएको रकम आफैँलाई सोध्दै नसोधी कटौति गरेको उजुरी नियामक निकाय बीमा समितिमा दर्ता गराएपनि पीडितहरुको पक्षमा केही कदम नचालेकोमा उनले दुखेसो पोखे ।

  • ‘नियम विपरित रकम काटिएको छैन’: राजेन्द्र अमात्य, अध्यक्ष, पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफ

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले भने नोटबजारसँगकोे कुराकानीमा कुनै पनि अभिकर्ताबाट नियम विपरित रकम नकाटेको दाबी गरे ।

अभिकर्ताहरुकै हकहीतको लागि अभिकर्ताद्धारा नै स्थापित भएको समितिबाट अभिकर्ताको अधिकार विपरित रकम नकाटिएको उनको प्रष्टोक्ती छ ।

“अभिकर्ता संघ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सम्झौता अनुसार अभिकर्ताहरुसँग पैसा लिन्छौं, र उहाँहरुकै हक हीतमा खर्च गर्छौँ” अमात्यले भने ।

“समितिको सदस्यहरुको मात्रै रकम काटिएको छ । समितिमा दिएको उजुरी सत्य होईन,” उनले भने ।

संघले अभिकर्ताबाट फरक फरक रुपमा लेबी उठाउने गरेको उनले नोटबजार डटकमसँग बताए । सामान्य अभिकर्ताबाट हरेक बीमालेखको १० रुपैयाँ लेबी लिने गरेको उनले जानकारी दिए । “अभिकर्ताबाट संकलन गरिएको रकम केन्द्रीय कमिटीले ६० प्रतिशत र शाखा स्तरका कमिटीले ४० प्रतिशत खर्च गर्न पाउने नियम छ सोही रकमबाट अभिकर्ताहरुको हक हीतका लागि खर्च गर्ने काम हुन्छ” उनले भने ।

https://notebazar.com/news/2021-03-22-10

Friday, March 19, 2021

सम्झनामा आउने त्यो पल



गाउँले जीवन । वर्षमा एकदिन आउने सरस्वति पुजा । साच्चै नै रमाईलो लाग्थ्यो । बिहान उठेर चिसो पानीमा नुहाएर घरको केही काम सकाईन्थ्यो । विधालय जानु भन्दा अघि घरमा भए भरका पुरानादेखि नयाँ सबै किताब कापीका प्रत्येक पन्ना अबिरले राताम्मे पार्ने रहर । त्यो रहरलाई साथ दिन्थे लाली गुँरास, पहेलो जाई फुल र बन मालाले । पुगे सबैमा नपुगे सिङ्गो किताब वा कपीमा मयुरको एउटा प्वाँख राखिन्थ्यो । यी सबै कुराले किताब र कपीका पन्ना रङ्गाए पछि सरस्वति माता प्रसन्न भएर पढ्न जान्न बनाउने आशाले मन भरिभराउँ हुन्थ्यो ।

खाएर पुजा गर्नु हुँदैन भन्ने आस्थालाई पछ्याँदै गउाँभरिका साथिसँग विधालयको गेट पुगिन्थ्यो । अघिल्लो दिन नै सरस्वति माताको फोटो राखेर बनाईएको मन्दिरमा धेरै पढ्न आवोस् भनेर पुजा गर्न बसेका सबै साथिहरुको लाइनमा सामेल भईन्थ्यो । पुजा आज सकाएपछि प्रसादका रुपमा बुनिया, सुन्तला र जुनारका केही केस्रा खान पाईन्थ्यो । 

त्यसपछि यस दिनका लागि भनेर केही दिनअघिदेखि नै साँस्कृतिक कार्यक्रमका लागि पूर्व तयारी भए अनुसार नाँचगाँन गरेर सरस्वति मातालाई प्रसन्न पारिन्थ्यो ।

बीमा समितिबाट माघ महिनामा ६ बीमा कम्पनीको नयाँ पोलिसी स्वीकृत

नोटबजार संवाददाता।
 काठमाडौं।
 ४चैत्र, २०७७, बुधबार 

माघ महिनामा बीमा समितिबाट ६ बीमा कम्पनीका नयाँ बीमा योजना स्वीकृत भएका छन् । ४ जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले नयाँ बीमा योजना जारी गर्ने स्वीकृत पाएका हुन् ।



जीवन बीमातर्फ माघ महिनामा बीमा समितिबाट राष्ट्रिय बीमा संस्थान, सूर्या, महालक्ष्मी र यूनियन लाइफले नयाँ पोलिसी जारी गर्ने स्वीकृति पाएका हुन् । निर्जीवन बीमातर्फ सगरमाथा र नेको इन्स्योरेन्सले नयाँ बीमा योजना जारी गर्ने स्वकीृत पाएका हुन् ।

युनियन लाइफले जीवन आधार नामक बीमा योजना जारी गर्न समितिबाट माघ २५ गते स्वीकृत पाएको हो ।

कम्पनीले माघ २९ गतेदेखि उक्त बीमालेख जारी गरेको जानकारी दिएको छ ।

समितिले सुर्या लाइफको सुर्या चौरासी बीमा योजना र महालक्ष्मी लाइफको महालक्ष्मी धानधन्य बीमा योजना माघ २५ गते स्वीकृत गरेको हो । त्यस्तै, राष्ट्रिय बीमा संस्थानको सामुहिक म्यादी जीवन बीमा योजना माघ २२ गते स्वीकृत गरेको हो ।

समितिले निर्जीवन बीमातर्फ सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्सको नयाँ बीमा योजना जारी गर्ने स्वीकृत गरेको छ । सगरमाथा इन्स्योरेन्सको सगरमाथा आरोग्य हेल्थ इन्स्योरेन्स माघ १४ गते स्वीकृत भएको हो भने नेको इन्स्योरेन्सको कम्पेन्सेसन इन्स्योरेन्स फर क्लिनिकल ट्रायल पोलिसी माघ ५ गते स्वीकृत भएको हो ।

  • महालक्ष्मी धनधान्य बीमा

महालक्ष्मी लाइफले “शान्ती हुन्छ मनको वर्षा हुन्छ धनको” भन्ने सन्देशका साथ महालक्ष्मी धनधान्य बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले १५ वर्ष र २० वर्ष अवधिको बीमा योजना ल्याएको हो । बीमालेख चालु रहि बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमालेखले आर्जन गरेको बोनस रकम एकमुष्ठ भुक्तानी गरिने छ ।

इन्स्योरेन्सले ल्याएको १५ वर्षे यस योजनामा बीमालेख खरिद गरेको ५ वार्षपछि नै % नगद फिर्ता, १० वर्ष पछि फेरि २०%र बाँकी ६०% कुल बोनस फिर्ता दिने जनाएको छ । २० वर्षे बीमा योजना खरिद गर्ने बीमितले २०%, १५ वर्ष पछि फेरि २०% र २० वर्ष पछि ६०% र कुल बोनस फिर्ता पाउनेछन् ।

  • यूनियन लाइफको जीवन आधार बीमा योजना

यूनियन लाइफ इन्स्योरेन्सले वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनालाई बन्द गर्दै नयाँ बीमा योजना जीवन आधार बीमा योजना ल्याएको छ । बीमा समितिबाट स्वीकृत कम्पनीको उक्त बीमा योजना माघ २९ गतेदेखि जारी गरिएको जनाएको छ ।

  • सूर्या चौरासी बीमा योजना

सूर्या लाइफ इन्स्योरेन्सले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन दीर्घ जीवन, समृद्ध भविष्य सन्देश सहित नयाँ बीमा योजना सूर्या चौरासी बीमा योजना सञ्चालनमा ल्याएको हो । भन्ने सन्देशका साथ आज एक कार्यक्रमका बीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो ।

बीमा योजना खरिद गर्ने बीमित जीवित रहेसम्म लागू हुने बीमा योजनामा बीमा शुल्क भुक्तानी अवधि पछि आर्जित बोनस एकमुष्ठ प्राप्त हुने बताइएको छ ।

आर्जित बोनस लिएपछि प्रत्येक वर्ष ८२ वर्षसम्म बीमाङ्कको ६ प्रतिशत प्रतिफल प्राप्त हुने र ८३ वर्ष पुगेपछि बीमाङ्कको १५० प्रतिशत रकम पाइने इन्स्योरेन्सले जनाएको छ ।

  • राष्ट्रिय बीमा संस्थानको सामुहिक म्यादी जीवन बीमा

राष्ट्रिय बीमा संस्थानले आफ्नो ५४ औँ वार्षिकोत्सवको अवसर पारेर सामुहिक म्यादि जीवन बीमा योजना नामक नयाँ बीमा योजना ल्याएको छ । यो बीमा योजना कम्तिमा १० जना सदस्य भएको संघ संस्थाका कर्मचारीहरुमा लक्षित रहेको कम्पनीले जानकारी दिएको छ ।

  • ५ महिनामा १३ बीमा कम्पनीका १९ नयाँ पोलिसी स्वीकृत

१३ बीमा कम्पनीले पाँच महिनामा १९ वटा नयाँ पोलिसी जारी गर्ने स्वीकृत पाएका छन् । बीमा समितिले ७ जीवन बीमा कम्पनी र ६ निर्जीवन बीमा कम्पनीको १९ वटा नयाँ पोलिसी स्वीकृत गरेको हो ।

जिवन बीमा कम्पनीतर्फ रािष्ट्रय बीमा संस्थान, यूनियन, सिटिजन, रिलायन्स, एशियन, ज्योति, सूर्या लाइफको नयाँ पोलिसी स्वीकृत भएको हो । निर्जीवन बीमा कम्पनीतर्फ शिखर, सगरमाथा, प्रीमियर, नेको, जनरल र एभरेष्ट इन्स्योरेन्सको नयाँ बीमा योजना जारी गर्ने स्वीकृत पाएका हुन् ।

समितिले यूनियन लाइफ, राष्ट्रिय बीमा संस्थानका दुई दुई वटा बीमा योजना स्वीकृत गरेको छ । सिटिजन लाइफका तीन वटा नयाँ बीमा योजना स्वीकृत भएका छन् । त्यस्तै, शिखर इन्स्योरेन्सको पनि दुई वटा नयाँ बीमा योजना स्वीकृत भएका छन् ।

https://notebazar.com/news/2021-03-17-24

चुक्ता पुँजीका आधारमा नेपाल लाइफ र आईजीआई प्रुडेन्सियल बने ठूला कम्पनी

  क्लिकमान्डु प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १५:०९ काठमाडौं । नेपाली बीमा बजारमा नेपाल लाइफ इन्स्यारेन्स र आईजीआई प्रुडेन्सियल इन्स...